काठमाडौँ । बलिवुड फिल्म ‘लापता लेडीज’ ९७औं ओस्कार अवार्ड–२०२५ को दौडबाट बाहिरिएको छ ।
यो फिल्म ओस्कारको अन्तिम १५ को सूचीमा पर्न असफल भएको छ । एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेज (एम्पास) ले बुधबार बिहान अन्तिम सूची सार्बजनिक गरेको छ ।
अब विदेशी भाषाको फिल्ममा 'एमिलिया पेरेज', 'आई एम स्टिल हियर' (ब्राजिल), 'युनिभर्सल ल्याङ्ग्वेज' (क्यानाडा), 'वेभ्स' (चेक रिपब्लिक), 'द गर्ल विथ द नीडल' डेनमार्क) र जर्मनीबाट 'द सीड अफ द सेक्रेड फिग' समावेश रहेका छन् ।
विदेशी विधामा फिल्म लपता लेडीज अवार्डका लागि पठाइएको थियो । किरण रावद्वारा निर्देशित र आमिर खान प्रोडक्सनको ब्यानरमा बनेको थियो । यसमा रवि किशन, स्पर्श श्रीवास्तव, प्रतिभा रन्त र नितांशी गोयल मुख्य भूमिकामा छन् ।
ओस्कार अवार्डका लागि मनोनयनहरू जनवरी १७ मा घोषणा गरिनेछ । ओस्कार अवार्ड समारोह २ मार्चमा हुनेछ ।
हालसम्म भारतबाट ३ फिल्म मदर इन्डिया, सलाम बम्बे र लगान ओस्कारको विदेशी फिल्म विधामा मनोनयनमा परेका छन् तर कुनै पनि अवार्ड जित्न भने असफल भएका छन् ।
फिल्म ‘लापता लेडीज’ गत मार्च १ मा हलमा रिलिज भएको थियो । यो फिल्मलाई आमिरकी दोस्रो पूर्व पत्नी किरण रावले निर्देशन गरेकी हुन् । ५ करोड भारुमा बनेको यो फिल्मले बक्स अफिसमा २५ करोडको कलेक्शन गरेको थियो भने फिल्मलाई समीक्षक र दर्शकले दुबैबाट प्रशंसा पाएको थियो ।