काठमाडौँ । रियल म्याड्रिडबाट खेल्ने ब्राजिलका भिनिसियस जुनियर यस बर्षको फिफाको उत्कृष्ट खेलाडी बनेका छन् । भिनिसियसले यस बर्षको फिफा 'द बेस्ट' को अवार्ड जितेका हुन् ।
गएराती कतारको दोहामा आयोजित कार्यक्रममा फिफाको बार्षिक अवार्डको घोषणा गरिएको हो । फिफा अवार्डका लागि फिफा सदस्य राष्ट्रका कप्तान, प्रशिक्षक, पत्रकार र फ्यानहरुले मतदान गरेका थिए ।
पुरुषतर्फ भिनिसियस जुनियरले द बेस्ट अवार्ड जिते भने महिला तर्फ ऐताना बोनमतिले द बेस्ट अवार्ड जितेकी छन् ।
भिनिसियस्ले ४८ अंक पाएका थिए भने दोस्रो स्थानमा रहेका स्पेनका रोड्रीले ४३ र तेस्रो स्थानमा रहेका इङल्याण्डका जुडे बेलिङघमले ३७ अंक प्राप्त गरेको फिफाले जनाएको छ ।
त्यस्तै अर्जेन्टिनाका एमिलियानो मार्टिनेजले पुरुषतर्फ उत्कृष्ट गोलकिपरको अवार्ड जितेका छन् भने महिला तर्फ अमेरिकन अलिसा नाहेहरले उत्कृष्ट गोलकिपरको अवार्ड जितेका छन् ।
त्यस्तै रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टी र अमेरिकी महिला टिमकी प्रशिक्षक इमा हायेजले उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् ।