काठमाडौँ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले अमेरिका र इजरायलले सिरियाको असद सरकारलाई ध्वस्त पारेको आरोप लगाएका छन् ।
उनले बशर अल-असदलाई राष्ट्रपति पदबाट हटाउँदा इरान कमजोर नहुने पनि जोड दिएका छन् । उनले ‘सिरियाको छिमेकी राष्ट्र’ यो सरकारलाई ध्वस्त पार्ने काममा संलग्न रहेको आरोप पनि लगाए ।
खामेनीले एक्समा लेखेको पोस्टमा भनेका छन्- 'अमेरिका र इजरायल मुख्य षड्यन्त्रकारी हुन् र उनीसँग यसको प्रमाण छ । सिरियाका साहसी युवाहरूले कब्जा गरिएका क्षेत्रहरू मुक्त गर्नेछन्। मलाई कुनै शंका छैन कि यो एक दिन हुनेछ ।'
उनले भने, ‘सिरियामा जे भयो त्यो अमेरिका र इजरायलको योजना थियो भन्नेमा कसैलाई शंका गर्नु हुँदैन ।'
रुसको सरकारी समाचार एजेन्सी टासका अनुसार रुसी विदेश मन्त्रालयका प्रवक्ताले सिरियामा रहेका आफ्ना नागरिकको सुरक्षा आफ्नो प्राथमिकता रहेको बताएका छन् ।
मारिया जाखारोभाले रेडियो स्पुतनिकलाई बताइन्, 'सिरियाको अवस्था नाटकीय मोडमा छ र महत्त्वपूर्ण कुरा यो नाटकीयबाट निरपेक्ष त्रासदीमा नफर्किनु हो ।' जाखारोभाले रुस सिरियाका धेरै स्थानीय सेनासँग सम्पर्कमा रहेको बताइन् ।