काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बयानका लागि आज काठमाडौँ नल्याइने भएको छ । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई यसअघि आज काठमाडौँ ल्याइने बताइएको थियो ।
तर आज उनलाई काठमाडौँ ल्याउने योजना स्थगित भएको छ । अब उनलाई भोली या पर्सी मात्र काठमाडौँ ल्याउने बताइएको छ ।
रास्वपाका नेता तथा लामिछानेका सहयोगी दीपक बोहोराले पनि लामिछानेलाई भोलि साँझ वा पर्सी बिहानमात्रै काठमाडौं पठाउने जानकारी गराएका छन् । उनले फेशबुकमा लेखेका छन्–‘कास्की प्रहरीले रवि दाइलाई भोलि साँझ वा पर्सी बिहान मात्र काठमाडौं पठाउने भएको छ ।'
उनलाई यस बीचमा बयानका लागि पोखराबाट रुपन्देही लगिएको थियो ।
काठमाडौंमा भने लामिछानेविरुद्ध कालिमाटीमा मुख्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा ठगी गरेको आरोप छ ।
लामिछानेलाई आइतबार मात्र कास्की जिल्ला अदालतले १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
यस अघि कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो भने पुनः दोस्रोपटक ७ र तेस्रो पटक १० दिनको म्याद थप भएको थियो । त्यसपछि कार्तिक २५ गते १३ दिनको म्याद थप भएको थियो ।
लामिछानेविरुद्ध कास्की बाहेक रुपन्देही, काठमाडौँ र चितवन अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।
लामिछानेविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । प्रहरीले सहकारी ठगि मुद्धामा बढीमा २५ दिन, संगठित अपराधमा बढीमा ६० दिन र सम्पत्ति शुद्धिकरण मुद्धामा बढीमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।