• २०८१ कार्तिक १६ शुक्रबार

उपमेयरका श्रीमानहरुले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग

kharibot

बिशाल बस्नेत, महोत्तरी । स्थानीय सरकार संचालनमा मेयर/अध्यक्ष  र उपमेयर/उपाध्यक्षका आफ्नै अधिकार क्षेत्र छन् । तर सरकार संरचना वनेर दुई कार्यकाल वितिसक्दा पनि अधिकार क्षेत्रको विषयमा स्पष्ट वन्न नसक्दा मेयर र उपमेयरविचको द्वन्द स्थानीय तहमा उत्कर्षमा  छ ।

यस्का ज्वलन्त उदाहरणहरु महोत्तरीका स्थानीय तहमा बग्रेल्ती देखिन्छन । जिल्लाका १४ स्थानीय तहमध्ये प्रायः पालिकाहरुमा एकै पार्टीवाट निर्वाचित भएका मेयर/उपमेयर छन् । तर कतै मेयरले अधिकार क्षेत्र अतिक्रमण गर्ने त कतै उपमेयरले मेयरको अधिकार खोज्ने वेमेलले विकासका काम मात्र हैन जनमानसमा चरम निराशा पैदा हुँदै गएको देखिएको छ ।

मेयर र उपमेयरको झगडाको मुख्य कारक भने उपमेयरका श्रीमानहरु छन् । आफ्नो स्वार्थसिद्वका लागि श्रीमतिहरुलाई निर्वाचित गराउने र मेयरसँगको  सम्बन्धमा दरार पैदा गरेर व्यक्तिगत र राजनीतिक फाईदाको हतियार वनाउने गरेको विभिन्न क्रियाकलापहरुले पुष्टि गर्दै आएको छ ।

निक्कै आशा र अपेक्षा गरेर निर्वाचित गराईएको मेयर/उपमेयर झगडाले  विकासमा कसरी प्रभाव पार्छ भन्ने उदाहरण जिल्लाको उत्तरवर्ति क्षेत्र गौशाला नगरपालिकावाट सुरु हुन्छ । निर्वाचित भएको पारम्भदेखि नै झगडामा केन्द्रित मेयर दिपेन्द्र महतो र उपमेयर रेणु कुमारी महतोविचको कलहले आन्तरिक राजश्वमा मात्र प्रभाव परेको छैन विकासका कामहरुमा समेत सुस्तता देखिएको छ । तर अचम्म लाग्दो त काँहानिर छ भने उन्को पनि स्वकीय सचिव श्रीमान् नै छन् । श्रीमान कै कारणले पनि मेयरसँग दरार पैदा भएको स्थानीयहरुको बुझाई छ ।

 ‘गौशाला नगरपालिकाको हकमा मेयर नै बढी दोषी देखिन्छन । उन्ले उपमेयरको अधिकार अतिक्रमण गर्ने र आफुलाई नै सर्वश्रेष्ठ ठान्ने घमण्डले यो अवस्था सिर्जना भएको हो ।’ स्थानीय राम मगरले भने । ‘वास्तवमा गौशालामा ठुलो समस्या छ ।’

उनीहरु दुवै जना जसपावाट निर्वाचित भएका हुन् । एकै पार्टीवाट निर्वाचित भएतापनि  विकासका काममा उपमेयरको अनुगमन विना बजेट भुक्तानी गर्ने, राजश्व सम्बन्धि कार्यहरुमा मेयरले आफुखुसी गर्ने जस्ता विषयहरुले कलह सिर्जना हुदै गएको स्थानियहरुको बुझाई छ । जिल्लामा नै सवैभन्दा बढी पढेलेखेकी र अधिकार क्षेत्र बुझेकी उपमेयर महतो मेयरले अधिकार क्षेत्रवाट विमुख वनाएपछी पटकपटक अदालतको साहारा लिएको र अदालतले उन्कै पक्षमा फैसला सुनाएको समेत देखिन्छ ।

के-के छन उपप्रमुखका अधिकार क्षेत्र ?

स्थानीय सरकार संचालन ऐन २०७४ मा उपमेयरले न्यायिक संयोजक भई काम गर्ने, गैरसरकारी संघ, सस्थाहरुको समन्वय गर्ने, उपभोक्ता हित संरक्षण सम्बन्धि कामको समन्वय गर्ने, विकासका योजना तथा कार्यक्रमहरुको अनुगमन र सुपरिवेक्षण गरि त्यस्को प्रतिवेदन तयार गर्ने, सभा र कार्यापालिकाद्वारा गठित समितिहरुको काममा सहजीकरण र समन्वय गर्ने, अध्यक्ष/पालिका प्रमुखको अनुउपस्थितिमा अध्यक्ष/ पालिका प्रमुखको अधिकार क्षेत्रको समेत काम गर्ने जस्ता अधिकारहरु दिएको छ । तर ऐनले प्रदान गरेका अधिकार क्षेत्रका विषयमा जानकारी नराख्दा कतै उपमेयरहरु स्वयम् रुमलिरहने त कतै अधिकार क्षेत्र अतिक्रमण हुदा अधिकार कै लागि भएका लडाईले  पालिकाहरुमा नियमित कामहरु नै निर्वाधरुपमा अगाडी बढ्न सकेका छैनन ।

तर गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतो वाहेक अन्य पालिकाका उपमेयरहरुको कार्यशैली हेर्दा स्थानीय सरकार संचालन ऐन अन्तर्गत निदृष्ट गरेका अधिकारहरुको विषयमा जानकार नै नभएको स्पष्ट देखिन्छ ।

जिल्लाको दक्षिणी पालिकाहरुमा त झन उपमेयर/उपाध्यक्षको अवस्था निक्कै दयनीय छ   । मनरासिस्वा नगरपालिका केही महिना अगाडी उपमेयर शकुन्तलादेवीले आफ्ना स्वर्गीय श्रीमानको तस्विर कार्यकक्षमा राखेको विषय निक्कै आलोचना भएको थियो । असाक्षर र सामान्य हस्ताक्षर गर्न समेत नसक्ने उपमेयर/ उपाध्यक्षहरुको अवस्थाले स्थानीय सरकारले जनतालाई अभिभावकत्व निर्वाह गर्ने विषयमा अझै आम मानिसमा संसय छ  ।

पार्टीले अधिकांश उपमेयर/उपाध्यक्षहरुको कार्यक्षमतालाई मुल्यांकन नगरी उम्मेदवार वनाएका कारण पनि समस्या सिर्जना भईरहेको कतिपयको बुझाई छ ।

श्रीमानका भरमा चलेका छन् जिल्लाका सवैजसो पालिकाहरु

जिल्लाका प्राय: पालिकाहरुका उपप्रमुखहरुको अधिकार श्रीमान तथा नातेदारको नियन्त्रणमा छन् । उनीहरु आफ्नो स्वेच्छाले जिम्मेवारी निर्वाह गरेको कम नै देखिन्छ । श्रीमानविना कुनै काम गर्न नसक्ने उपप्रमुखहरुले अधिकार मात्र हैन जिम्मेवारीलाई समेत रमिता वनाएको देखिन्छ ।

स्वर्गीय श्रीमानको स्मृतिमा पुजा गर्ने कार्यकक्ष समेत पालिका नै वनाएका उपप्रमुखहरुको कारणले पनि स्थानीय सरकारका गतिविधि रमिता वनिरहेको स्थानीय शिक्षक अनोज यादव वताउछन् ।

यो रमिता जिल्लाको उत्तरवर्ती क्षेत्र बर्दिवासवाट नै सुरु हुन्छ । जिल्ला कै सुगम नगरपालिकाकोरुपमा लिईने बर्दिवासमा उपमेयर श्रीमान् विष्णुदेव महतो हुन् की उपमेयरको निर्वाचित तारादेवी महतो हुन् भन्ने नया मानिसहरुलाई ठम्याउन नै गार्र्हो हुने स्थानीयहरूकको भनाई छ ।

सामान्य लेखपढ गर्न सक्ने उपमेयर जुनसुकै कार्यक्रममा जाँदा पनि बिष्णुदेवलाई लिएर हिडने गर्दछिन । उपमेयरमा अधिकारको अनविज्ञता मात्र हैन विकासप्रतिको दृष्टिकोण समेत निक्कै कमजोर देखिन्छ । न्यायिक समितिको संयोजक देखि अनुगमनको विषयमा उपमेयर नै सर्वेसर्वा हुने अधिकार पाएका उपमेयरहरुको कमजोर प्रस्तुतीले पनि स्थानीय सरकारप्रतिको भरोसा न्यून वन्दै गएको कतिपयको विश्लेषण छ ।

श्रीमान् भएमा स्वकीय श्रीमान् वनाउने र नत्र देवर, छोरा, भतिजलाई वनाउने गरेको देखिएको छ ।  यतिसम्म की स्थानीय सरकार संचालन ऐनले स्वकीय सचिव राख्न नमिल्ने स्पष्ट व्यवस्था छ तर उनीहरुले आन्तरिकरुपमा कुनै पदमा नियुक्त गरेर स्वकीय सचिव वनाईरहेको समेत देखिन्छ ।

औरही नगरपालिकामा उपमेयरका देवर स्वकीय सचिवाकोरुपमा काम गर्ने गर्दछन । हामीले उपमेयर रेणु झालाई यस विषयमा जिज्ञासा राख्दा स्वकीय सचिव नभई कुनै काम गर्दा सल्लाह मात्र लिने गरेको जिकिर गरिन ।

जिल्लाका अधिकांश गाँउपालिका तथा नगरपालिकामा उपमेयरको कार्यकक्ष, कार्यसम्पादन, जिम्मेवारी र अधिकारहरु श्रीमानहरुको नै नियन्त्रणमा रहेको देखिन्छ । स्वविवेकले कुनैपनि निर्णय लिन नसक्ने कारणले महिला उपमेयरहरुले आफुलाई विकास गर्न नसकेको पनि कतिपयको बुझाई छ ।

काँहा कुन-कुन पार्टीवाट निर्वाचित भए ?

जिल्लाका १४ स्थानीय तहमध्ये धेरैजसो पालिकामा जसपा र लोसपाले जितेका पालिकाहरु छन्  ।

 एकडारा गाँउपालिकामा अध्यक्ष/उपाध्यक्ष दुवै जसपावाट, औरही नगरपालिकामा प्रमुख/उपप्रमुख दुवै जना लोसपावाट, गौशाला नगरपालिकामा दुवै जना जसपावाट, जलेश्वर नगरपालिकामा दुवै जसपावाट, पिपरा गाँउपालिकामा जसपावाट, बर्दिवास नगरपालिकामा नेपाली कांग्रेसको वागी उम्मेदवार, बल्वा नगरपालिकामा प्रमुख लोसपावाट, उपप्रमुख कांग्रेसवाट, भंगाहा नगरपालिकामा पनि प्रमुख लोसपावाट, उपप्रमुख कांग्रेसवाट, मटिहानी नगरपालिकामा प्रमुख/उपप्रमुख दुवै जना लोसपावाट, मनरासिस्वामा दुवै जना कांग्रेसवाट, महोत्तरी गाँउपालिकामा अध्यक्ष तमलोपावाट उपाध्यक्ष जसपावाट, रामगोपालपुर नगरपालिकामा प्रमुख/उपप्रमुख दुवै जना नेकपा एमालेवाट, लोहारपट्टी नगरपालिकामा दुवै जना कांग्रेसवाट, सम्सी गाँउपालिकामा दुवै जना जसपावाट र सोनामा गाँउपालिकामा दुवै जना लोसपावाट निर्वाचित भएका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै