• २०८१ कार्तिक ९ शुक्रबार

भारतले विमानमा झुटो बम धम्कीको समस्या समाधान गर्न मेटा र एक्ससँग माग्यो सहयोग

kharibot

काठमाडौँ । भारत सरकारले विमानमा झुटो बम धम्की फोन र सन्देशलाई गम्भीरतापूर्वक लिदै संलग्न व्यक्तिहरूको पहिचान गर्न कारबाही थालेको छ । भारतीय मिडियाहरुले भारत सरकारले मेटा र एक्स जस्ता सोशल मिडिया प्लेटफर्महरूलाई त्यस्ता कल र सन्देशहरूको जानकारी साझा गर्न अनुरोध गरेको उल्लेख गरेका छन् ।

सरकारले यी फेक कलहरू जनताका लागि खतरा भएको भन्दै त्यसको पहिचान गर्न बहुराष्ट्रिय प्रविधि कम्पनीहरूसँग पनि सहयोग मागेको जनाइएको छ ।

उडानलाई लक्षित गरी बम विष्फोट गर्ने झुटो फोन गर्ने केही व्यक्तिको पहिचान भइसकेको र यस सम्बन्धमा आवश्यक कारबाही भइरहेको रिपोर्टमा उल्लेख छ । यद्यपी सरकारले यी झुटा कल र म्यासेज कहाँबाट आएको हो र यसको पछाडि कसको हात छ भन्ने स्पष्ट गरेको छैन ।

सरकारले मेटा र एक्सलाई यी गलत कल र सन्देशहरूसँग सम्बन्धित डाटा साझेदारी गर्न अनुरोध गरेको छ । यो विषय जनताको बृहत्तर हितमा भएकाले यी कम्पनीले सहयोग गर्नुपर्ने भन्दै यी जानकारी साझा गर्न भारत सरकारले आग्रह गरको छ ।
केहि सातादेखि भारतमा धेरै उडानहरूले बम राखिएको बारे गलत कल र सन्देशहरू आएपछि सयौं उडान प्रभावित भएका छन् । 

पछिल्लो नौ दिनमा भारतका १७० भन्दा बढी उडानलाई यस्तो धम्की आएको बताइएको छ । जसमा केही अन्तर्राष्ट्रिय उडानहरू पनि समावेश रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै