• २०८१ मङ्सिर ९ आइतबार

राष्ट्रपति पौडेललाई विपक्षी दलहरुको ध्यानाकर्षण 

kharibot

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विपक्षी दलका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर ध्यानाकर्षण गराएका छन् ।

बुधबार अपराह्न शीतल निवासमा उनीहरूले राष्ट्रपति पौडेललाई भेटेर सरकारले गरेका कामको विषयमा ध्यानाकर्षण गराएका हुन् ।

विपक्षी दलहरूले यसअघि प्रधानमन्त्री केपी ओलीलाई बुझाएको १३ बुँदे ज्ञापनपत्रको विषय समेत ब्रिफिङ गरेका थिए । सरकारले विपद् व्यवस्थापनको विषयमा ध्यान नदिएको, सत्ता पक्ष र विपक्षी दलहरू मिलेर राष्ट्रिय समस्या समाधान गर्नुपर्ने बेलामा दल विभाजन गर्नतिर उद्धत रहेको लगायत विषयमा राष्ट्रपतिको ध्यानाकर्षण गरिएको छ ।

राष्ट्रपति पौडेलसँगको भेटमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे तथा आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न अध्यादेश ल्याउन खोजेको आशंका गर्दै उक्त विधेयक आएमा जारी नगर्न उनीहरुले राष्ट्रपतिलाई आग्रह गरेका थिए ।

यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी दलहरूका तर्फबाट १३ बुँदे ज्ञापनपत्र बुझाइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै