• २०८१ असोज ६ आइतबार

कोशी प्रदेशसभाको पाँचौं अधिवेशनमा के के भयो ?

kharibot

विराटनगर । कोशी प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य भएको छ । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङको कार्यालयबाट नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्यको पत्र सभामुख अम्बरबहादुर विष्टले सदनमा पढेर सुनाएसँगै अधिवेशन समापन भएको थियो ।

त्यसअवसरमा सभामुख विष्टले कोशी प्रदेशसभाले यसपटक समयमै बजेट पारितगरी समितिका विषयगत सभापतिसमेत चयन गर्न महत्वपूर्ण सफलता हासिल गरेको बताउँदै सभालाई मर्यादित रुपमा सञ्चालन गर्न सत्तापक्ष र विपक्षसमेत सबैले गरेको सहयोगप्रति आभार प्रकट गरेका थिए ।

गत वैशाख ३१ गते सुरु भएर झण्डै चार महिना चलेको सो अधिवेशनमा २० पटक बैठक बसेको थियो । कोसी प्रदेशसभा सचिवालयका अनुसार यस अवधिमा बैठक ४७ घण्टा ५८ मिनेट ४३ सेकेन्ड चलेको थियो । सचिवालयका अनुसार पाँचौँ अधिवेशनको अन्तिमसम्ममा शून्य समय ८४ पटक र वार्षिक नीति तथा कार्यक्रम, विधेयक तथा मुख्यमन्त्रीको विश्वासको मतसम्ममा एक सय ४३ पटक प्रदेशसभा सदस्यले आ–आफ्नो मन्तव्य राखेका थिए ।

यस अधिवेशनमा आर्थिक विधेयकबाहेक अरु तीन विधेयक पारित भए । केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश निजामती सेवा ऐनलाई संशोधन गर्न बनेको विधेकय, २०७९ /२०८१० तथा प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक २०८१ पारित भएका छन् ।

प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयकमा चार संशोधन प्रस्ताव दर्ता भएकामा अधिकांश संशोधन सरकारले स्वीकार गरेकाले संशोधनकर्ता प्रदेशसभा सदस्यहरुले संशोधन फिर्ता लिएपछि उक्त विधेयक सर्वसम्मतले पारित भएको थियो । यस्तै प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐनलाई संशोधन गर्न बनेको २०७७ (विधेयक २०८१) मा कुनै संशोधन सर्वसम्मतिले पारित भएको छ ।

यही सभामा कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका हुन । दुई तिहाइ मतसहित उनले विश्वासको मत प्राप्त गरेका हुन  । कोसी प्रदेशमा ९३ प्रदेशसभा सदस्य छन् । नेकपा (एमाले)का ४०, नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, राप्रपाका छ, नेकपा (एकीकृत समाजवादी) का चार र जसपाका एक प्रदेशसभा सदस्य छन् । कोशी प्रदेशमा नेपाली कांग्रेसको समर्थन र सहभागितामा एमालेको सरकार छ ।

मत विभाजनको प्रक्रियामार्फत भएको मतदानमा पक्षमा ६६ मत प्राप्त भएको थियो भने विपक्षमा १५ मत प्राप्त भएको छ । एकीकृत समाजवादीका दुई सदस्यले मतदानमा भाग लिएनन् । मतदानका क्रममा प्रदेशसभाका ८३ सदस्य उपस्थित रहेका थिए । यसअघि मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते विश्वासको मत लिएका थिए । गत भदौ १४ गते माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि पुनःविश्वासको मत लिनुपरेको हो ।

यही अधिवेशनमा प्रदेशसभाको दोस्रो कार्यकालको २२ महिनासम्म विषयगत समितिका सभापति छनोट हुन सकेका थिएनन् । पछिल्लो समयमा केन्द्रीय राजनीतिमा आएको परिवर्तन पछि कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बनेपछि कोसी प्रदेशमा सातवटै समितिमा सर्वसम्मतले सभापतिहरु चयन भएका छन् । त्यसमा एमालेका तीन, नेपाली कांग्रेसका तीन र माओवादी केन्द्रका एक जना निर्विरोध निर्वाचित भएर कोशी प्रदेशसभामा सहमति, सहकार्य र एकता देखिन पुगेको छ ।

कोशी प्रदेशसभामा आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको सिद्धान्त र प्राथमिकता तथा त्यसमा आधारित नीति र कार्यक्रमअनुसार सरकारले करिब रु ३५ अर्बको वार्षिक बजेट प्रस्तुत गरेको थियो । बजेटमा आएका प्रतिक्रिया र सुझावलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सकारात्मक रुपमा लिने र यसलाई विधि एवम् प्रक्रियाबाट परिस्कृत गर्ने घोषणा गरेपछि बजेट पनि सर्वसम्मतले पारित भएको थियो ।

मुख्यमन्त्री कार्कीले हालसम्म प्रदेशसभाले ७० कानुन बनाइसकेको जानकारी दिँदै आगामी हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा अघि सार्दै एक दर्जन कानुन बनाउने गरी तयारी थालेको जानकारी दिए ।

कोशी प्रदेशसभामा आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको सिद्धान्त र प्राथमिकता तथा त्यसमा आधारित नीति र कार्यक्रमअनुसार सरकारले करिब रु ३५ अर्बको वार्षिक बजेट प्रस्तुत गरेको थियो । बजेटमा आएका प्रतिक्रिया र सुझावलाई मुख्यमन्त्री कार्कीले सकारात्मक रुपमा लिने र यसलाई विधि एवम् प्रक्रियाबाट परिस्कृत गर्ने घोषणा गरेपछि बजेट पनि सर्वसम्मतले पारित भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै