काठमाडौँ । काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन् । काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।
दशैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन्। सोही अनुसार अहिले मेलम्ची खानेपानी विकास समितिले काम गरिरहेको जनाएको छ ।
मेलम्ची खानेपानी विकास समितिका कर्मचारीको टोली काठमाडौँमा जतिसक्दो चाँडो मेलम्चीको पानी पथान्तरणका लागि खटिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
बर्षायाम सुरु भएसँगै धमिलो आउन थालेपछि र बाढीले क्षती गर्ने भएका कारण काठमाडौँ उपत्यकामा गत असार १० गतेदेखि पानी ल्याउन बन्द गरिएको थियो ।
काठमाडौँ उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर रहेको र मेलम्चीबाट गत असार १० गते अघिसम्म १७ करोड लिटर पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक करिब २० करोड लिटर पानी ल्याउन लागिएको छ।
काठमाडौँमा बाह्रै महिना पानी ल्याउन मिल्ने गरी अहिले भएको स्थानबाट माथितर्फ सर्कथली क्षेत्रमा आठ सय मिटर दूरीमा इन्टेक सार्ने तयारी छ। मेलम्ची खानेपानीका लागि काठमाडौँ उपत्यकामा एक हजार ७ सय किमि नयाँ पाइपलाइन विस्तार गरिएको छ ।