• २०८१ बैशाख २१ शुक्रबार

सहारा सामग्री पाएपछि बर्दिवास अपांगता भएकामा पलायो आशा

kharibot

बर्दिवास / ‘नब्बे बर्ख’क उमर में इ सहारा भेटल’ (नब्बे वर्षको उमेरमा यो सहारा भेट्टाइयो) महोत्तरी जिल्लाको भंगाहा नगरपालिका–४, रामनगरका ९० वर्षीय उचितराय दनुवारले आँखा नदेख्नेको सहारा सेतो छडी टेक्दै भने । 

सोमबार महोत्तरी नेत्रहीन संघ बर्दिवास र नेपाल नेत्रहीन संघ पुनःस्थापन कार्यक्रम महोत्तरीले आफ्नै बस्तीमा पुगेर आँखा नदेख्ने अपांगता भएकालाई हिँडडुलमा सहारा हुने सेतो छडी दिएपछि दनुवारलाई केही विशेष कुरा पाएको महसुस भएको छ । 

‘बौवा, इ त चलफिर में बड सहज बुझायत अछि’ (बाबु, यो त हिँडडुल गर्न साँच्चै सजिलो हुँदो रहेछ) सेतो छडी टेकेर अलिअलि टहलिँदै दनुवारले भने –, “साइठ बर्खक उमर में आँइख बन्द भेल बेर इ समान भेटित त जिनगी सायद एत्तेक बोझिल नई रहित” (साठी वर्षको उमेरमा आँखा गुमेको मलाइ त्यतिखेरै यो लठी भेटेको भए त्यसयता बिताएको जीवन सायद मैले भोगे जति बोझिलो हुन्थेन होला) । . 

दनुवारजस्तै विभिन्न अंग अपांगता भएका भंगाहा नगर क्षेत्रकै अन्य ३३ जनाले एल्बो क्रचेज, ह्वीलचेयर, ट्राइसाइकल र वैशाखीसहितका सहारा पाएका छन् । “अपांगताकै कारण हिँडडुल गर्न नसक्दा कतिपय अवस्थामा आफ्नो जिन्दगी आफँैलाई बोझिलो लाग्थ्यो” जन्मँदै आँखा गुमाएका भंगाहा–४ कै ७० वर्षीय अर्जीलाल रायले सोमबार सेतो छडी घुमाउँदै भने –, “अब चैँ ठूलो रोगले सताएर लडाएन भने सेतो छडीको सहाराले ओरपर मज्जाले घुमफिर गरिने भो ।” 

भंगाहामा जस्तै आजै जिल्लाकै बर्दिवास नगरपालिकामा पनि यिनै दुवै संस्थाले ४५ जना अपांगता भएकालाई एल्बो क्रचेज, ह्वीलचेयर, ट्राइसाइकल र वैशाखीसहितका सहारा वितरण गरेको छ । बर्दिवासमा हिजो ७० वर्षको उमेरमा ह्वीलचेयर पाएपछि बर्दिवास–१ की डम्बरकुमारी श्रेष्ठ पनि फुरुङ्ग पर्नुभएको छ । ‘नानी गोडा चल्दैन, कुँजिएर बस्नुपथ्र्यो’ ह्वीलचेयरमा बसेर त्यसलाई हातको बलले गुडाउँदै श्रेष्ठले भने , “अब त यसो वरपर आँगन डुल्न पाइने भो ।” 

श्रेष्ठजस्तै बर्दिवास–९ पशुपतिनगरका ६९ वर्षीय सुमन मण्डल र बर्दिवास–५ माइस्थानकी ७२ वर्षीया सानुमाया बुढाथोकीलाई पनि आपूmले पाएको ह्वीलचेयरले अबको बाँकी जीवन अली सहज हुने आस जागेको छ । ‘बौवा बड् निक समान भेटल’ (बाबु, धेरै राम्रो समान पाँए) ६९ वर्षीय मण्डलले आफ्नो मातृभाषा मैथिलीमै भने, “आब बुढारी तनिक सहज होयत से आस जागल’ (अब बुढ्यौली अली सजिलो होला भन्ने आश पलायो) । 

आँखाको अपांगता भएकालाई सेतो छडी, हात÷गोडाको अपांग समस्या भएकालाई ट्राइसाइकल र ह्वीलचेयर, हातगोडाका जोर्नी र अन्य समस्या भएकालाई एल्बो क्रचेज र वैशाखी वितरण गरिएको नेपाल नेत्रहीन संघ पुनःस्थापन कार्यक्रम महोत्तरीका कार्यकारी निर्देशक अमृत राईले जानकारी दिए । 

दुवै नगरपालिकामा यी सामग्री वितरण गर्न दुवै नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, राष्ट्रिय अपांग पुनःस्थापन समाज काठमाडौँ र समाज कल्याण परिषद्को राष्ट्रिय अपांग सहायता कोषले सहयोग गरेको दुबै आयोजक संस्थाले जनाएका छन् । 

अपांगता भएकालाई यी सामग्री वितरण गर्ने समारोहमा दुवै नगरपालिकाका प्रमुख (विदुरकुमार कार्की, बर्दिवास नगरपालिका र सञ्जिवकुमार साह, भंगाहा नगरपालिका), राष्ट्रिय अपांग पुनःस्थापना समाज काठमाडौँ र समाज कल्याण परिषद्को राष्ट्रिय अपांग सहायता कोषका प्रतिनिधि क्रमशः गोपाल भण्डारी र सुगम भट्टराईको उपस्थिति थियो । 

दुवै कार्यक्रमको अध्यक्षता महोत्तरी नेत्रहीन संघका अध्यक्ष वीरेन्द्र महतो र सञ्चालन पनि आँखाकै अपांगता भएका भविष्यकुमार झाले गरेको थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै