• २०८१ असार २० बिहीबार

जुन महिनामा ७६ हजार पर्यटक भित्रिए

kharibot

काठमाडौँ । सन् २०२४ को जुनमा मात्र ७६ हजार ७३६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागलाई उदृत गर्दै नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार सन् २०२३ को जुनको तुलनामा यस वर्षको जुनमा चार हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका हुन् । सन् २०२३ को जुनमा ७२ हजार २५० पर्यटक नेपाल भित्रिएका थिए ।

नेपाल भित्रिएका पर्यटकमध्ये भारतीय पर्यटक बढी छन् । भारतबाट जुनमा ३७ हजार ८३५ पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए । यस्तै, दोस्रोमा अमेरिकाबाट आठ हजार २८१, चीनबाट सात हजार ४९४ जना पर्यटक नेपाल भित्रिएका छन् ।

बङ्गलादेशबाट तीन हजार ८५७, बेलायतबाट एक हजार ९६९, अष्ट्रेलियाबाट एक हजार ५८९, भुटानबाट एक हजार ६६, मलेसियाबाट एक हजार १४, जापानबाट ९५३ र दक्षिण कोरियाबाट ८७५ जना भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।

कोरोना महामारीभन्दा पहिले सन् २०१९ को जुनमा नेपालमा ७४ हजार ८८३ विदेशी पर्यटक आएका थिए । सन् २०२४ सुरु भएयता नेपालमा पाँच लाख ८३ हजार १६ पर्यटक भित्रिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै