• २०८१ पौष २ मंगलबार

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको उपाधि सुबाशलाई

kharibot

काठमाडौ । डिफेन्डिङ च्याम्पियन सुबाश तामाङले भुवन नगरकोटी र निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै सूर्य नेपाल गल्फ टुर २०२३-२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीपको उपाधि जितेका छन ।

आज ४-अन्डर ६८ को कार्ड तयार गर्दै सुबाशले समग्रमा १६-अन्डर २ सय ७२ को सानदार नतिजामा उपाधि आफ्नो नाममा लेखाए। प्रो बनेपछिको पहिलो उपाधि जितेका उनले नगद २ लाख ७५ हजार प्राप्त गरे।

समग्रमा १४-अन्डर २ सय ७४ को स्कोरमा निरज र भुवनले संयुक्तरुपमा दोस्रो स्थान बाँडे। निरजले ५-अन्डर ६७ र भुवनले ३-अन्डर ६९ को स्कोर दर्ज गरे। उनीहरूले जनही १ लाख ४८ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे। दिनेश प्रजापतिले १-अन्डर ७१ सहित समग्रमा १२-अन्डर २ सय ७६ को स्कोरमा चौथो भए। उनले १ लाख २ हजार हात पारे ।

समग्रमा ६-अन्डर २ सय ८२ को नतिजामा तोरण विक्रम शाही पाँचौ हुँदै ८८ हजार प्राप्त गरे। उनले आज इभन-पार ७२ मा खेल सकाए। २-अन्डर २ सय ८६ को स्कोरमा छैटौं भएका सञ्जय लामाले अन्तिम दिनको खेल २-अन्डर ७० मा सकाए। उनले ८० हजार नगद पुरस्कार हात पारे । समग्रमा इभन-पार २ सय ८८ सहित टंक बहादुर कार्की र जयराम श्रेष्ठ सातौं भए । टंकले ३-अन्डर ६९ र जयरामले ४-ओभर ७६ मा खेल सकाए। उनीहरूले जनही ७१ हजार ५ सय नगद हात पारे । समग्रमा १-ओभर २ सय ८९ को स्कोरमा रवि खड्का नवौं र ६-ओभर २ सय ९४ सहित रामे मगर दशौं भए। रविले आज ३-अन्डर ६९ र रामेले २-ओभर ७४ मा खेल सकाए। रविले ६४ हजार र रामेले ५९ हजार नगद हात पारे।

एमेच्योरतर्फ ८-अन्डर २ सय ८० को स्कोरमा बिजय श्रेष्ठ आइन्हाउसलाई दुई स्ट्रोकले हराउँदै सदभाव आचार्यले उपाधि जिते। उनले आज १-ओभर ७३ को स्कोर निकाले। आज १-अन्डर ७१ खेल्दै विजय सहित समग्रमा ६-अन्डर २ सय ८२ सहित दोस्रो भए। समग्रमा २-अन्डर २ सय ८६ को स्कोरमा तेन्जिङ पाल्देन तेस्रो भए।  उनले‌ आज २-अन्डर ७० खेले।
अन्तिम दिनको सुरूवात गर्दा सुबाश र भुवनबीच कडा प्रतिस्पर्धा चल्यो। दोस्रो होलको बोगी विरूद्ध पहिलो र तेस्रो होलको बर्डीले सुबाशले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। भुवनले दोस्रो र आठौं होलमा एक-एक सट खेर फाले भने तेस्रो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। फ्रन्ट नाइनको खेल सकिंदा सुबाश र भुवन कुल १३-अन्डरको स्कोरमा बराबरीमा थिए।

यसपछि दशौं होलमा भुवनले उत्कृष्ट चिप पटमा बर्डी प्रहार गरे र एक स्ट्रोकको अग्रता बनाए। ११औं होलमा सुबाशको टी सट पानीमा खस्यो। यो होलमा सुबाशले बोगी खेपे। भुवनले भने बर्डी प्रहार गर्दै २ स्ट्रोकको अग्रता बनाए। तर यो अग्रता सुबाशले १२औं होलमा एक स्ट्रोकमा झारे। सुबाशले उत्कृष्ट चिप गर्दै इगलको सफलता प्राप्त गरे। भुवनले भने बर्डी प्रहार गरे। यसपछिका ४ होलमा दुबैले बराबरी खेले।

एक स्ट्रोकले अगाडि रहेका भुवनको लागि १७औं होल हारको कारण बन्यो। उनको अप्रोच सट रूखमुनि पुग्यो र डबल बोगी खेपे। सुबाशले पार बचाउँदै एक स्ट्रोकको अग्रता बनाए । अन्तिम होलमा बर्डी प्रहार गर्दै सुबाशले २ स्ट्रोकले उपाधि जिते। उनले ब्याक नाइन ३-अन्डर ३३ मा र भुवनले १-अन्डर ३५ मा पुरा गरे। सुर्य नेपाल गल्फ टुरमा सुबाशको यो समग्रमा छैटौं उपाधि हो । निरजले सातौं होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। यसपछि १०औं, १२औं, १४औं र १८औं होलको बर्डीले ब्याक नाइन ४-अन्डर ३२ मा पुरा गर्दै बोगी फ्री स्कोर कार्ड बनाए । पुरस्कार राशीको आधारमा सिजनकै ठुलो प्रतियोगितामा कुल १५ लाख ५० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगितामा ३७ प्रो र ११ एमेच्योर गरी कुल ४८ गल्फरको सहभागीता रहेको थियो ।

यो सिजनको कुल आठ प्रतियोगिता मध्ये एमेच्योर सदभाव आचार्यले दुई तथा प्रो दिनेश प्रजापति, शुक्र बहादुर राई, भुवन नगरकोटी, रवि खड्का, निरज तामाङ र सुबाश तामाङले एक एक उपाधि जिते । विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका म्यानेजिङ डिरेक्टर रवि कुमार रायवरम र पिजीए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार वितरण गरे ।

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसीप अन्तर्गत प्रो-एम प्रतियोगिता शनिबार हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै