• २०८१ असार ४ मंगलबार

युक्रेनसँग शान्ति वार्ता सुरु गर्न पुटिनले राखे दुई शर्त

kharibot

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति वार्ता सुरु गर्न दुई शर्त राखेका छन् । राष्ट्रपति पुटिनले युक्रेनले डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरोज्यबाट आफ्ना सेना फिर्ता गर्नुपर्ने र दोस्रो युक्रेन नेटोमा सामेल नहुने भएमा वार्ता शुरु गर्न तयार रहेको सन्देश दिएका हुन् ।

युक्रेनसँग सम्भावित युद्धविरामका लागि पुटिनको सर्तहरू ९० देशका प्रतिनिधिहरू स्विट्जरल्याण्डमा भेट्न जाँदै गर्दा यस्तो अवस्थामा बाहिर आएको हो ।

यस सम्मेलनमा युक्रेनका लागि शान्तिको बाटोबारे छलफल हुने बताइएको छ । यसका लागि रुसलाई निम्तो दिइएको छैन । तर, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की त्यसमा सहभागी हुन जाँदैछन् ।

रुसी विदेश मन्त्रालयका नेताहरुसँगको भेटमा पुटिनले भने, ‘युक्रेनले डोनेस्क, लुहान्स्क, खेर्सन र जापोरोज्यबाट आफ्ना सेना फिर्ता गर्ने र नाटोमा सामेल नहुनेबित्तिकै रुसी सेना त्यहाँबाट पछि हट्न थाल्छ । '

पुटिनले युक्रेनले यी क्षेत्रबाट आफ्ना सेना पूर्ण रूपमा फिर्ता गर्नुपर्नेमा जोड दिएका छन् ।  यससँगै पुटिनले युक्रेनले नेटोमा सामेल हुने आफ्नो योजना त्याग्नुपर्ने बताएका छन् । उनले युक्रेनले आफ्नो सिमाना (भूमि) सम्बन्धी नयाँ यथार्थलाई स्वीकार गर्नुपर्ने बताए ।

यी सर्तहरूको उल्लेख गर्दै पुटिनले रुस–युक्रेन युद्धको शान्तिपूर्ण समाधानका लागि भएको सम्झौतालाई अन्तर्राष्ट्रिय सन्धिमा अभिलेख गर्नुपर्ने बताए । साथै, रुसमाथि लगाइएका सबै प्रतिबन्धहरू पनि हटाउनुपर्नेछ । रुसी राष्ट्रपतिले युक्रेनी सेनालाई फिर्ता गर्न सुरक्षित बाटो उपलब्ध गराउने वाचा गरेका छन् ।

युक्रेनले आयोजना गर्न लागेको शान्ति सम्मेलनको एक दिनअघि पुटिनले युद्ध अन्त्य गर्ने शर्त राखेका छन् । यो शान्ति सम्मेलन शनिबार स्वीट्जरल्याण्डको बर्गेनस्टकमा हुने भएको छ । शान्ति सम्मेलनमा ९२ देश र आठ संस्थाका एक सय प्रतिनिधि सहभागी हुने स्वीस सरकारले जनाएको छ । तर, रुसी प्रतिनिधिलाई निमन्त्रणा गरिएको छैन । चीन, ब्राजिल र साउदी अरबका प्रतिनिधिले सम्मेलनमा भाग लिन अस्वीकार गरेका छन् ।

सम्मेलनमा दुई दिनसम्म वार्ता हुनेछ । यी तीन मुद्दाहरू खाद्य सुरक्षा, आणविक विकिरण र सुरक्षाका साथै मानवीय मुद्दाहरूसँग सम्बन्धित हुनेछन् । यसमा युक्रेनी बालबालिका सहित सबै युक्रेनी बन्दीहरू र कैद गरिएका युक्रेनीहरूको रिहाई समावेश छ।

सम्मेलनमा भएका निर्णयहरू मध्यस्थकर्तामार्फत रुसलाई जानकारी गराइनेछ । सम्मेलनको योजना अनुसार यी मध्यस्थकर्ताहरूले रुस र युक्रेनबीच मध्यस्थता गर्नेछन्। यसअघि पनि यस्ता वार्तामा सहमति भइसकेको छ । तर, युद्ध रोक्ने पुटिनको भनाइले शान्ति सम्मेलनको एजेण्डामा कुनै परिवर्तन ल्याउने वा नदिने भन्ने अझै निश्चित छैन ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिनको युद्धविराम प्रस्तावलाई अल्टिमेटम भनेका छन्, जसलाई विश्वास गर्न सकिँदैन । जेलेन्स्कीले आफूले बुझेसम्म युद्धविरामसँग सम्बन्धित शर्तहरू स्वीकार गरे पनि पुटिनले सैन्य आक्रमण रोक्न नसक्ने बताए ।
उनले पुटिनका यी सन्देशहरू हिटलरले प्रयोग गरेको सन्देशसँग मिल्दोजुल्दो रहेको बताए ।  जेलेन्स्कीले भने, ‘हिटलरले मलाई चेकोस्लोभाकियाको एक भाग दिनुहोस् र म युद्ध अन्त्य गर्छु भन्थे । यो पूर्ण झुट थियो । यसपछि हिटलरले पोल्याण्डको एक हिस्सा मागे । तर यसपछि पनि हिटलरले सम्पूर्ण युरोपमा आफ्नो नियन्त्रण कायम राखे।'

युक्रेनी विदेश मन्त्रालयले पुटिनको पछिल्लो भनाइमा कुनै नयाँ कुरा नभएको बताए ।  मन्त्रालयले भने, 'स्विट्जरल्याण्डमा शान्ति शिखर सम्मेलनको पूर्वसन्ध्यामा पुटिनको एउटै लक्ष्य छ, यस शिखर सम्मेलनमा विश्वभरका नेता र देशहरूलाई सहभागी हुनबाट रोक्नु ।' 

त्यस्तै अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई युद्ध अन्त्य गर्न आग्रह गर्ने स्थितिमा नभएको बताएका छन् । उनले भने- 'पुटिनले युक्रेनलाई शान्ति प्राप्त गर्न के गर्नुपर्छ भन्न सक्ने स्थितिमा छैनन् ।' उनले पुटिनले चाहेमा आज नै युद्ध अन्त्य गर्न सक्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै