• २०८१ असोज १२ शनिबार

यमनमा आफ्ना कर्मचारीलाई तत्काल रिहा गर्न राष्ट्रसङ्घको माग

kharibot

जेनेभा । यमनका हुथी विद्रोहीले हिरासतमा लिएका राष्ट्रसङ्घीय कर्मचारी र अन्य सहायताकर्मीलाई तत्काल र बिनाशर्त रिहा गर्न संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर तुर्कले माग गरेका छन् ।

हुथी विद्रोही समूहले गत साता पक्राउ परेका व्यक्ति अमेरिका–इजरायली जासुसी सञ्जालको हिस्सा भएको र उनीहरूले अन्तर्राष्ट्रिय सङ्गठन र संयुक्त राष्ट्रसङ्घीय निकायको आवरणमा काम गरेको बताएको छ ।

तुर्कले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “म हाम्रा कर्मचारीमाथि लगाइएका घृणित आरोपलाई स्पष्ट रूपमा खण्डन गर्दछु, र उनीहरूको अवस्थाको बारेमा गहिरो चिन्ता व्यक्त गर्दछु ।”

संयुक्त राष्ट्रसङ्घ र सहायता समूहले गत साता इरान समर्थित विद्रोहीले एक दर्जनभन्दा बढी सहायताकर्मीहरूलाई हिरासतमा लिएको बताएका थिए ।

लामो समयदेखि जारी गृहयुद्धमा सम्लग्न हुथी विद्रोही सम्मिलित युद्धले विश्वकै सबैभन्दा खराब मानवीय सङ्कट निम्त्याएको भन्दै कति जनालाई पक्राउ गरिएको छ भन्ने बारे केही खुलाएको छैन ।

विद्रोहीहरूले सन् २०१४ सेप्टेम्बरमा राजधानी सानामा कब्जा जमाएपछि सन् २०१५ मार्चमा सरकारलाई साउदी नेतृत्वको सैन्य हस्तक्षेपद्वारा सहयोग गरिएको थियो ।

संयुक्त राष्ट्रसङ्घको तर्फबाट विस्तृत विवरण प्रस्तुत गर्दै तुर्कले जारी गरेको वक्तव्यमा भनिएको छ, “राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय निकायका १३ जना कर्मचारीलाई हिरासतमा लिइएको र उनीहरूको अवस्थाबारे जानकारी दिइएको छैन ।

उनले भने, “म यमनको सानास्थित सरकारी अधिकारीसँग संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वा मानवीय गतिविधिमा सहयोग गर्ने अन्य व्यक्तिहरूसँग आबद्ध भएको आरोपमा हिरासतमा लिइएका अन्य व्यक्तिहरूलाई तत्काल र बिनाशर्त रिहा गर्ने पहलका लागि आग्रह गर्दछु ।”

यमनको मेयुन अर्गनाइजेसन फर ह्युमन राइट्सले यमनका १८ जना सहायताकर्मीलाई विद्रोहीको कब्जामा रहेको चार स्थानमा अपहरण गरिएको जनाएको छ ।

ह्युमन राइट्स वाचका अनुसार सन् २०१४ मा यमनको द्वन्द्व सुरु भएयता हुथी विद्रोहीले संयुक्त राष्ट्रसङ्घ र गैरसरकारी संस्थाका कार्यकर्तासहित सयौं सर्वसाधारणलाई अपहरण गर्ने, स्वेच्छाचारी रूपमा हिरासतमा राख्ने र यातना दिने गरिरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै