• २०८१ असार ४ मंगलबार

अन्तर्राष्ट्रिय विकास सङ्घको बैठक असार पहिलो साता काठमाडौँमा हुने

kharibot

काठमाडौँ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए) को बैठक असार पहिलो साता काठमाडौँमा हुने भएको छ । आगामी असार ४ देखि ७ गते (जुन १८ देखि २१ तारिख) सम्म हुने आइडिए-२१ बैठकका लागि आयोजक समिति, व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जनाएको छ ।

“बैठक व्यवस्थापनका लागि अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख एवं सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरिएको छ”, अर्थमन्त्री पुनको सचिवालयले भनेको छ ।

बैठकको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुने आयोजकले जनाएको छ । उद्घाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा बैठक सञ्चालन हुनेछ । समापनसत्रको प्रमुख अतिथि अर्थमन्त्री वर्षमान पुन रहने तय भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ पनि बैठकमा वक्ताका रुपमा सहभागी हुनेछन् ।

विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आइडिए बैठकमा सहभागी हुन विश्व बैंकका अध्यक्ष अजय बङ्गा, बैंकको दोस्रो वरियताका विकास नीति र साझेदारी विभागका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोट्सनवर्गलगायत उच्चपदस्थ अधिकारीहरु नेपाल आउने जनाइएको छ । सहसचिव नेपालका अनुसार विश्व बैंकका दाता करिब ६० र साझेदार ९० भन्दाबढी देशका तीन सय बढी प्रतिनिधि बैठकमा सहभागी हुनेछन् ।

सन् १९६० मा स्थापना भएको आइडिए विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमा पछि परेका मुलुकका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो । आइडिएले न्यून र मध्यम आय भएका विश्वका ७५ भन्दाबढी मुलुकमा सहायता उपलब्ध गराउँदै आएको छ । आइडिएको बैठक हरेक तीन वर्षमा हुने गरेको छ । यसपटकको बैठकका प्रमुख एजेण्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ ।

सहसचिव नेपालले यो स्तरको बैठकस्थलका लागि नेपाल छानिनु खुसीको कुरा रहेको बताए । उनले साझेदारसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरुका सकारात्मक पक्ष र चुनौतीबारे विश्वसमुदाय अवगत हुने र उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमबाट नेपाललाई कूटनीतिक लाभसमेत मिल्ने विश्वास आयोजकको छ । बैठकमा आगामी तीन वर्षमा आइडिएले गर्ने प्रमुख कामका साथै आर्थिक विकासमा उत्पन्न स्रोतको सीमालगायत विषयमा छलफल हुनेछन् । बैठकपछि अध्यक्ष बङ्गासहित उच्च अधिकारीहरू काठमाडौँ उपत्यका आसपासमा रहेका विश्व बैंकसहित विकास साझेदारका लगानीमा निर्माणाधीन विभिन्न आयोजनाको स्थलगत निरीक्षणमा जाने कार्यसूची रहेको जनाइएको छ ।

गत वैशाखमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन काठमाडौँ आउनुभएका विश्व बैंकका दक्षिण एशिया उपाध्यक्ष मार्टिन रेजरसँगको भेटमा अर्थमन्त्री पुनले बैठकको तयारीबारे छलफल गरेका थिए । त्यसअघि मन्त्री पुनले विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन वैशाख पहिलो साता अमेरिका गएकाबेला वासिङ्टन डिसीस्थित विश्व बैंक मुख्यालयमा भएको भेटमा बैंकका उपाध्यक्षद्वय अकिहिको निसियो र ग्वाङ्जे चेनसँगको भेटमा पनि आइडिए बैठकबारे कुराकानी गरेका थिए ।

आइडिएको २०औँ बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो । सो बैठकमार्फत विकास साझेदारको विश्वव्यापी गठबन्धनले न्यून आय भएका देशलाई कोभिड(१९ महामारीको सामना गर्न र हरियाली प्रवर्द्धनमार्फत कार्बन उत्सर्जन घटाउन ९३ अर्ब अमेरिकी डलर अनुदान सहयोग गर्ने घोषणा गरेको थियो ।

विश्वबैंकले सङ्खुवासभामा निर्माण हुने एक हजार ६३ मेगावाटको अर्धजलासययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजना र छ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त आयोजनामा लगानी गर्दैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै