• २०८१ माघ ३ बिहीबार

नेपालको विकासमा रूसको ठूलो सहयोग छ- उपप्रधानमन्त्री श्रेष्ठ

kharibot

काठमाडौँ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा रूसको ठूलो सहयोग रहेको बताएका छन् ।

पूर्वसोभियत सङ्घ र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलमा अध्ययन गरेका नेपालीको अल्मुनाई एसोसिएसन मित्रकुञ्जको ५७औँ वार्षिकोत्सव तथा एसियाली राष्ट्रहरुको छैटौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले नेपालको आर्थिक विकासमा रूसको सधैँ साथ र सहयोग रहँदै आएको बताएक हुन् ।

“नेपालको आर्थिक विकास, शिक्षा, विज्ञान, प्रविधि र पूर्वाधारका क्षेत्रमा रूसको महत्तवपूर्ण साथ र सहयोग रहँदै आएको छ, यो मुलुकका लागि गर्वको कुरा हो,” उनले भने । उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र रूसबीच पुरानो सम्बन्ध रहेकाले यसलाई झन् घनिष्ठ बनाउनका लागि यस्ता अल्मुनाईले सहयोग पुग्ने विश्वास व्यक्त गरे । परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले रूस र युक्रेनबीचको युद्धलाई वार्ता र संवादद्वारा समाधान गर्नुपर्ने धारणा राखे । उनले रूसली मुलुकमा सिकेको सीपलाई नेपालको विकासमा लगाउन सबैलाई आग्रह समेत गरे ।

नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेई निविकोभले रूस र नेपालबीचको सम्बन्धलाई मजबुद बनाउनका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । “रूस र नेपालको मित्रतालाई मित्रकुञ्जले अगाडि बढाएको छ,” उनले भने ।

तीन दिनसम्म चल्ने सम्मेलनमा रुसबाट नौ, पाकिस्तानबाट एक, मङ्गोलियाबाट चार, भारतबाट एक, चीनबाट सात, बङ्गलादेशबाट ३२, नेपालबाट एक सय ५०, भेनिनबाट एकजना प्रतिनिधिको सहभागिता रहेको मित्रकुञ्जका उपाध्यक्ष केशवराज विष्टले जानकारी दिए ।

मित्रकुञ्ज सम्मेलनका हस्पिटालिटी प्रमुख किशोर चापागाईंले नेपालको विकास र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा मित्रकुञ्जले काम गर्दै आएको बताए । सो अवसरमा मित्रकुञ्जबाट प्रकाशित स्मारिकासमेत विमोचन गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै