• २०८१ जेठ ८ मंगलबार

श्रम क्षेत्रका विभेद हटाउन नीतिगत सुधार जरुरी : अध्यक्ष नेपाल

kharibot

काठमाडौँ  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले श्रम क्षेत्रका विभेद् हटाउन नीतिगत सुधार आवश्यक रहेको बताएका छन् । 

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले श्रमजीवी वर्गको हक, हित तथा अधिकार सुनिश्चित नभएसम्म मुलुकको विकास र रूपान्तरण हुन नसक्ने बताए ।

संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न सम्बद्ध सबै पक्षबाट श्रमको सम्मान र मर्यादा हुनुपर्ने उल्लेख गर्दै उनले मजदुर वर्गको अधिकारका लागि एकतावद्ध सङ्घर्षमार्फत् विजय हासिल गरेको गौरवपूर्ण दिनको रूपमा मनाइने अन्तर्राष्ट्रिय श्रमिक दिवसमा श्रमजीवीलाई शुभकामना दिएका छन् । 

अन्तर्राष्ट्रिय श्रमिक दिवसले मजदुरको हक, हित र अधिकार स्थापित गर्न थप प्रेरणा दिने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले सुरक्षित कार्यथलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षा तथा नीति निर्माणमा श्रमिक वर्गको सहभागितासहित सबै प्रकारका विभेद्को अन्त्य गर्नुपर्नेमा जोड दिए ।

श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी काम गर्न उनले सरकारसँग आग्रह गरे ।

समाजको क्रान्तिकारी रूपान्तरणका लागि सबै प्रकारका विभेद्, शोषण, दमन र अन्यायसँग जुधेर श्रमजीवी वर्गको हितको रक्षा गर्नुपर्ने उनको भनाइ छ ।

लोकतन्त्रका मूल्य मान्यता स्थापित गर्न आफ्नो पार्टी निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, “अहिले ठूलो मात्रामा सक्रिय युवा जनशक्ति श्रमका लागि विदेसिएको छ । स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन जरुरी छ । अर्कोतर्फ वैदेशिक रोजगारीमा जाने श्रमिकको हक, अधिकार, सुविधा र असल श्रम सम्बन्ध सुनिश्चित गर्न सरकार क्रियाशील हुनुपर्दछ ।”
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै