• २०८१ माघ २ बुधबार

अरुण नदीमा अवरुद्ध फेरी सञ्चालनमा आयो

kharibot

किमाथाङ्का । सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका-९ सतिघाटस्थित अरुण नदीको फेरी पुनः सञ्चालनमा आएको छ । 

अरुण नदीमा चार वर्षअघि निर्माण गरिएको फेरीको लठ्ठा घुमाउने पुुल्लीमा समस्या देखिएपछि १५ दिनदेखि फेरी सञ्चालन हुन सकेको थिएन । फेरी नचल्दा  भोजपुरको उत्तरी क्षेत्रको यात्रुहरु आवतजावतमा समस्या भएको थियो । 

लठ्ठा घुमाउने पुल्ली खिएर तारमा समस्या देखिएपछि  फेरी बन्द गरिएको थियो । काठमाडौँबाट आएको प्राविधिकको टोलीले मर्मत गरेपछि फेरी सञ्चालनमा आएको षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईंले बताए । फेरी मर्मतपछि उत्तरी क्षेत्रबाट चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन आजदेखि  सञ्चालनमा आएको उनले बताए । 

अरुण नदीको सतिघाटमा फेरी सञ्चालन भएपछि षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिकाका ७० हजारभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । तत्कालका लागि ठूला तथा मालवाहक सवारीसाधन ओसारपसारमा भने रोक लगाइएको छ । नदी किनारका बालुवा नहटाउँदासम्म ठूला मालवाहक सवारीसाधन ओसारपसारमा कठिनाइ हुने भएकाले  तत्काल समाधानका लागि ठेकदारलाई निर्देशन दिइसकेको षडानन्द नगरपालिकाले जनाएको छ ।

अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि सवारी साधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एक मात्र माध्यम फेरी बनेको हो । उक्त फेरीले एकै पटकमा चार वटासम्म सवारीसाधन तार्ने गरेको छ ।

संघीय सांसद् क्षेत्र विकास कोषबाट ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट ७५ लाख र षडानन्द नगरपालिकाको रु ५५ लाख लागतमा फेरी निर्माण गरिएको हो । फेरीबाट दैनिक एक सय वटा सानाठूला सवारीसाधन तार्ने गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै