• २०८१ बैशाख २० बिहीबार

लहानमा आठ करोड लागतमा ड्रेन बन्ने

kharibot

सिरहा।  सिरहाको लहान नगरपालिकाले रु आठ करोड ५८ लाख लागतमा लहानको खुल्ला नहरमा ड्रेन निर्माण गर्ने भएको छ ।

आज एक समारोहबीच नगर प्रमुख महेशप्रसाद चौधरीले  ड्रेन निर्माण योजनाको शिलान्यास गरे । 

लहान बजार सुन्दर बनाउने नगरको योजना बमोजिम ड्रेन निर्माण गर्न चैत १९ गते निर्माण कम्पनीसँग सम्झौता भएको नगरप्रमुख चौधरीले जानकारी दिए । 

“खुल्ला नहरले बजारक्षेत्र कुरुप बनाएको थियो । नहर व्यवस्थित नहुँदा बालबालिका र वृद्धवृद्धालाई आवतजावतमा जोखिम थियो, वर्षायाममा नजिकका घर जलमग्न हुने गरेका थिए,” नगर प्रमुख चौधरीले भन्नुभयो, “सुन्दर लहान बनाउने परिकल्पना अब साकार हुनेछ । ड्रेन निर्माणपछि नहरको दाँयाबाँया सडक र किनारमा  बगैँचासमेत निर्माण हुने उनले जानकारी दिए । 

लहान बजारको उत्तरतर्फ वडा नं १०, ६, ७, ८ को ग्रामीण चोक हुँदै मारवाडी टोल, घण्टाघर, हुलाक चोक हुँदै दक्षिणतर्फ बहने दुई किलोमिटर लम्बाईको नहरमा ड्रेन बन्ने वडा न. ७ का अध्यक्ष राम अवतार शर्माले जानकारी दिए ।

उनका अनुसार ड्रेन निर्माणको ठेक्का सुलभ गुम्दा, पिपी जेभी कम्पनीले लिएको छ । 

व्यवस्थित पक्की ड्रेन निर्माणले दुर्घटनाको जोखिम न्यूनीकरणका साथै लामखुट्टे आतङ्क नियन्त्रणमा सहयोग पुग्ने नगरपालिकाका सरसरफाइ संयोजक तथा वडा नं ८ का अध्यक्ष श्याम शाहले बताए । योजना एक वर्षभित्र पूरा हुने नगरपालिकाले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै