• २०८१ बैशाख १९ बुधबार

नयाँ वर्ष पार्टी पुनःजागरणको वर्ष हुनेछ- महामन्त्री थापा

kharibot

पाटन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी वर्षलाई पार्टी पुनःजागरणको वर्ष बनाउँदै सुशासनप्रति प्रतिबद्ध रहने उल्लेख गरेका छन् ।

नववर्ष २०८१ का अवसरमा नेपाली कांग्रेस ललितपुर क्षेत्र नं २ द्वारा आज महालक्ष्मी नगरपालिका वडा नं ६ सिद्धिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री थापाले आम नागरिकमा रहेको राजनीतिप्रतिको वितृष्णालाई चिर्दै भरोसा दिलाउन लागिपर्ने धारणा राखे । 

“हामी आफूसँग भएको कुरामा खुसी हुन सक्नुपर्छ । इमानदारीपूर्वक काम गर्नुपर्छ, परिणाम र भविष्यका विषयमा धेरै चिन्ता लिन नहुनेरहेछ”, उनले भने, “खुला समाज, निजी क्षेत्रको विकास र नागरिकलाई समृद्ध बनाउने कुरामा विश्वास गर्छौं ।” 
उनले सुशासनप्रति प्रतिबद्ध रहँदै  नागरिकलाई भरोसाको प्रत्याभूति दिने पनि बताए । “यो वर्ष सत्तामा आँखा लगाउँदैनौँ, जनताको समस्या समाधानका लागि पार्टीलाई बलियो बनाउन लागिपर्छौं, राजनीतिप्रतिको वितृष्णालाई चिर्दै भरोसा दिलाउन लागि पर्छौँ”, महामन्त्री थापाले भने ।

पुनःजागरणका लागि पार्टीको शुद्धीकरण र सुदृढीकरण हुनुपर्छ भन्दै उनले विसं २०८२ को महाधिवेशन सम्पन्न गर्न वडा सभापति, क्षेत्रीय सभापति र जिल्ला सभापतिको भूमिका महत्त्वपूर्ण हुने धारणा राखेका छन् ।

उनले पार्टीमा सबैले जिम्मेवारी पूरा गर्नुपर्ने र नेता तथा कार्यकर्तामा विचार र व्यवहारको शुद्धीकरण हुनुपर्नेमा जोड दिए । बाध्यतावश विदेशमा काम गर्न गएकाहरूलाई गौरव गर्न सक्ने र भरोसा दिनेगरी काम गर्न सक्नुपर्छ भन्दै उनले राजनीतिक नेतृत्वले समस्याको समाधान दिनुपर्ने बताए । नागरिकले राजनीतिकर्मीबाट पारदर्शिता र शुद्धता खोजेको छ भन्दै उनले सांसद, मेयर, वडाध्क्ष निष्कलङ्क हुनुपर्नेमा ध्यानाकर्षण गराए ।

पार्टीभित्र क्रियाशील सदस्य बन्न खुला वातावरण बनाउनुपर्ने बताउदै जिम्मेवारी र पदमा आउनका लागि निश्चित मापदण्ड तयार गर्नुपर्नेमा जोड दिए । महामन्त्री थापाले नेतृत्व चयन प्रक्रियालाई परिवर्तन गर्दै गुटबन्दीको अन्त्य गर्न आवश्यक रहेको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै