• २०८१ जेठ ३ बिहीबार

प्लास्टिकको विकल्पमा कपडाको झोला

kharibot

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा प्लास्टिकको झोला विस्थापित गर्न उद्यमीलाई ‘सपिङ ब्याग’ (झोला) बनाउने तालिम प्रदान गरिएको छ । 

नगरपालिकाका १० वटै वडाका ३० महिला उद्यमी सहभागी तालिममा सिलाइ मेसिनबाट कपडाको सपिङ ब्याड (झोला) बुन्ने व्यावहारिक तथा सैद्धान्तिक ज्ञान र सीप प्रदान गरिएको हो ।

नगर उपप्रमुख ज्योति लामिछानेले बढ्दो वातावरण प्रदूषण नियन्त्रण, आयात प्रतिस्थापन, सरसफाइ, उद्यमीलाई रोजगारी र आम्दानीको अवसर सिर्जना गराउनका लागि प्लास्टिकलाई प्रतिबन्ध लगाउने तयारी गरिएको बताइन् । 

“नगरपालिकाले प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाउन तयारी थालेको छ”, उनले भनिन्, “प्लास्टिकको विकल्पमा कपडाको सपिङ ब्याग स्थानीयस्तरमै उपलब्ध गराउन उद्यमीलाई सिप सिकाइएको हो ।

” असन्तृप्त हाइड्रोकार्बन इथेनलाई रासायनिक प्रतिक्रियामा रूपान्तरण गरी कृत्रिम तरिकाले बनाइने झोलाले अत्यधिक फोहर, पुनःप्रयोग गर्न नमिल्ने, जलप्रदूषण, ऊर्जा शक्तिमा कमी र वायुप्रदूषण बढेपछि सरकारले विसं २०७२ मा प्लास्टिकका झोला प्रतिबन्ध लगाएको थियो । 

नकुहिने प्लास्टिक बाल्दा उत्पादन हुने नाइट्रोजन अक्साइड, सल्फर अक्साइड, डायोक्सिन, बाफिलो प्राङ्गारिक रसायन, कार्बनडाइअक्साइड आदिजस्ता हानिकारक ग्यास मानव स्वास्थ्यका लागि हानिकारक हुन्छन् ।

बेनी–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले कपडाको झोला बनाउने उद्यमीका लागि थप सीप र व्यवसाय सञ्चालनका लागि सहजीकरण गरिने बताए। 

उद्यमी डम्मरबहादुर कार्कीले पानी नछिर्ने, छिटो धुन र सुकाउन सकिने, आवश्यकताअनुसारको आकारमा न्यूनतम रु ५५ को लागतमा एउटा कपडाको झोला बनाउन सकिने बताए । 

तालिममा सहभागी कमला कार्की र सुपिना किसानले बजारको सुनिश्चितता भए घरमै अथवा सामूहिकरुपमा झोला उत्पादन गर्न तप्पर रहेको बताए ।

क्षमता विकास तालिम, झोला बनाउने कच्चा सामग्री र सिलाइ मेसिन खरिदका लागि सहयोग गर्न नगरपालिकालाई अनुरोध गरे । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै