• २०८१ बैशाख १५ शनिबार

विश्वविद्यालय ज्ञान उत्पादन गर्ने केन्द्रका रुपमा विकास गरौँः मन्त्री बस्नेत

kharibot

पाटन (ललितपुर)। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले क्याम्पस तथा विश्वविद्यालयलाई ज्ञान उत्पादन गर्ने केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

नवआगन्तुक विद्यार्थीको स्वागतमा अखिल (क्रान्तिकारी) पाटन क्याम्पस कमिटीद्वारा आयोजित कार्यक्रममा उनले क्याम्पस र विश्वविद्यालयलाई ज्ञान प्राप्त गर्ने थलोमात्र सीमित नगरेर ज्ञान उत्पादन गर्ने केन्द्रका रुपमा विकास गर्दै मुलुकलाई समृद्धिको दिशामा लैजान सक्नुपर्ने बताए । 

“गौरवशाली इतिहास बोकेको यो क्याम्पसको आफ्नै महत्व छ । अहिलेका प्रधानमन्त्रीले विसं २०२८/२९ तीर यही क्याम्पसमा पढेका थिए ।

उच्च शिक्षा हासिल गर्ने जिम्मेवारी पूरा गर्दै मुलुक र देशको भविष्य निर्माणका लागि क्रियाशील रहन विद्यार्थी भाइबहिनीमा आग्रह गर्दछु”, मन्त्री बस्नेतले भने ।

उनले मुलुकको स्वाभिमान र स्वाधीनताका लागि त्याग गर्ने सहिदको योगदानमा खडा भएको अखिल (क्रान्तिकारी)ले मुलुकको राजनीतिक जीवनमा परिवर्तन ल्याउन सङ्घर्ष गरेको बताए ।

मन्त्री बस्नेतले बदलिदो परिवेशसँगै इतिहास र आदर्शलाई मुलुकको आवश्यकता र सन्दर्भसँग जोडेर ज्ञान उत्पादनतर्फ लाग्न विद्यार्थीलाई आग्रह गरे ।

हरेक नागरिकले देशको भविष्यप्रति गर्व गर्ने अवस्था सिर्जना गर्दै राष्ट्रको विकासका लागि उच्च मनोबल र गौरवको सन्देश बोकेर लाग्नुपर्नेमा उनले जोड दिए ।

मन्त्री बस्नेतले क्रान्ति सफल भएको दुई दशकमा नै सफलता हासिल भएन भनेर लिन नहुने बताउनुहुँदै सुशासन, सामाजिक न्यायसहितको विकासलाई पूरा गर्ने उद्देश्यसहित सरकार अगाडि बढिरहेको बताए ।

नेपालमा ऊर्जा उत्पादनको एक सय १२ वर्ष पूरा भएको बताउदै मन्त्री बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएर मन्त्रालय अगाडि बढिरहेको जानकारी दिए ।

“विसं १९६८ मा पहिलोपटक ऊर्जा उत्पादन सुरु भयो । त्यो बेलादेखि २०४६ सालसम्म ७८ वर्षको अवधि दुई सय ५० मेगावाट उत्पादन भएछ । विसं २०४८ देखि २०६२÷६३ सम्म २५० थप भई पाँच सय मेगावाट उत्पादन भएको देखिन्छ ।

विसं २०७२ सम्म ३०० मेगावाट र अहिले २९ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । यो तथ्यले पनि देश उन्नतितर्फ गइरहेको देखाएको छ”, मन्त्री बस्नेतले भने ।

उनले १० वर्षमा गरिएको कामले मुलुकले सार्थकता प्राप्त गरिनसकेको भए पनि निरन्तरता जारी रहँदा त्यसले सार्थकता प्राप्त गर्ने बताए । यो देशमा केही हुँदैन भन्ने भाष्यलाई चिर्नुपर्ने उनको भनाइ छ ।

नेकपा माओवादी बागमती प्रदेशका अध्यक्ष एवं बागमती प्रदेश सदस्य सरल सहयात्रीले सानोभन्दा सानो काम गरेर पनि देशमा बाँच्न सकिन्छ भन्ने सन्देश विद्यार्थीले दिन सक्नुपर्ने धारणा राखे ।

उनले उक्त कुराबाट प्रेरित भएर उच्च शिक्षा हासिल गर्दै देशको अवस्था परिवर्तनमा लाग्न विद्यार्थीलाई आग्रह गरे । 

सहयात्रीले हरेक क्षेत्रबाट देशको विकासमा योगदान गर्न सक्नुपर्ने भन्दै हाम्रा पुर्खाले पाखोपखेरो खनेर बनाएको मुलुकको विकास र समृद्धिको लागि सबै क्रियाशील हुनुपर्नेमा जोड दिए ।

“पढ्दै नपढेको व्यक्तिले पनि लामो समय एउटा काममा निरन्तरता दियो भयो भने त्यो क्षेत्रमा विज्ञ हुन सकिन्छ”, उनले भने, “तसर्थ निरन्तर प्रयास, आत्मविश्वास र धैर्यतासहित अध्ययन वा आफूले गरिरहेको काममा लाग्नुपर्दछ ।”

कार्यक्रममा उपप्राध्यापक शारदा लामिछानेसहित अखिल (क्रान्तिकारी)का केन्द्रीय पदाधिकारीले समेत मन्तव्य राखेका थियो । 
 

 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै