• २०८१ बैशाख १५ शनिबार

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कामप्रति मन्त्री बस्नेतको असन्तुष्टि

kharibot

काठमाडौँ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चालु आर्थिक वर्षका लागि निर्धारित नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा लापर्वाही गरेको र जिम्मेवारपूर्ण ढङ्गले कार्यसम्पादन नगरेको पाइएको छ । 

आफैँले कार्यान्वयन गर्छु भनेर वार्षिक कार्यक्रम र बजेटमा समावेश गरेका अधिकांश योजना कार्यान्वयन नगरेको पाइएपछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललाई वास्तविकता स्पष्ट गर्न निर्देशन दिएका छन् ।  

मन्त्रालयमा आज आयोजित सिनियर म्यानेजमेन्ट टीम (एसएमटी) बैठकमा मन्त्री बस्नेतले आर्थिक वर्ष सकिन केही महिना बाँकी हुँदा ‘तोकिएका काम प्रक्रियामा रहेको, माग सङ्कलन गरिरहेका’ केन्द्रको प्रगति विवरणप्रति उनले असन्तुष्टि जनाए ।

उनले भने, “तोकिएका अधिकांश कामको प्रगति १० प्रतिशतभन्दा कम छ । माग सङ्कलन भइरहेको भन्ने विवरणप्रति चित्त बुझाउन सकिँदैन ।”

वैकल्पिक ऊर्जा, सौर्य ऊर्जासँग जोडिएका अधिकांश परियोजनाको प्रगति धैरै कम छ ।

मन्त्री बस्नेतले तोकिएको जिम्मेवारी समयमा पूरा नगर्नेलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिए । 

साना जलविद्युत् आयोजनाको मर्मतसम्भार, सौर्य परियोजना तथा केन्द्रको कार्य क्षेत्रभित्र पर्ने अधिकांश परियोजनाको प्रगति न्यून छ ।

पटक–पटक निर्देशन दिँदा केन्द्रले जिम्मेवारपूर्ण तरिकाले काम गर्न नसकेको भन्दै मन्त्री बस्नेतले अब  छुट दिन नसकिने बताए । 

नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण प्रणाली नपुगेका स्थानमा वैकल्पिक ऊर्जामार्फत उज्यालो पार्ने लक्ष्य छ । केन्द्रका अधिकांश गतिविधि गैरसरकारी संस्था केन्द्रित भएको आरोप लागेको छ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै