लुम्बिनी। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल भएको बताएका छन् ।
अवैतनिक वाणिज्य दूतहरूको संस्था (एचसिसीएन) ले यहाँ आयोजना गरेको समृद्धिका लागि विश्व शान्ति सम्मेलनको बिहीबार उद्घाटन गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले बुद्ध र लुम्बिनीलाई बुद्धका शिक्षाले विश्वमा शान्ति स्थापनाका निम्ति सन्देश प्रवाह गरेका बताए ।
उनले विश्वशान्ति स्थापनामा जोड दिँदै संसारका विभिन्न देशमा बढेका द्वन्द्वले आर्थिक सङ्कटसँगै अन्य समस्या पनि बढाइरहेको बताए ।
शान्ति र समृद्धिका विषयमा बहस गर्ने सबैभन्दा उत्तम स्थान लुम्बिनी भएको बताउँदै एचसिसीएनले यहाँ सम्मेलन आयोजना गरेकामा त्यसको सराहना गरे ।
परराष्ट्रमन्त्री श्रेष्ठले चार महिनाअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले लुम्बिनी भ्रमण गरेको स्मरण गर्दै भगवान् बुद्धका शिक्षाको पालनाबाट विश्वशान्ति स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सम्मेलनमा नेपालका लागि अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मङ्गोलिया, इन्डोनेसिया, सेसेल्स्, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लाद्भिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूत सहभागी छन् ।
सम्मेलनमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायत विषयमा छलफल हुनेछ ।