• २०८१ बैशाख १५ शनिबार

राउतको खुलासा- प्रधानमन्त्री प्रचण्ड बालेनलाई पक्राउ गर्न चाहन्थे, देउवाले रोके

kharibot

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठले  काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पक्राउ गर्ने तयारी गरेको खुलासा गरेका छन् ।

अध्यक्ष राउतले कान्तिपुर टेलिभिजनको 'फायरसाइड' कार्यक्रममा दिएको अन्तर्वार्तामा मेयर बालेनलाई पक्राउ गर्न प्रचण्ड सरकारले गोप्य बैठक डाकेको बताएका हुन् ।

गत भदौ दोस्रो साता आफ्नी श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबार जलाउने धम्की दिएका थिए। उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई चोरको संज्ञासमेत दिएका थिए । पछि उनले सो स्ट्याटस मेटेका थिए ।

सो स्ट्याटसपछि प्रधानमन्त्री प्रचण्ड र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले मेयर बालेनलाई पक्राउ गर्न खोजेको राउतले बताएका छन् । उनले भनेका छन्- 'बडो गोप्य तरिकाले बैठक बसेको थियो। एजेन्डा थाहा थिएन,' उनले अन्तर्वार्तामा भनेका छन्, 'बैठकमा प्रधानसेनापतिदेखि प्रहरी प्रमुख र उपत्यकाका तीनैवटा जिल्ला सिडिओहरू थिए । त्यहाँ पुगेपछि थाहा पाए, काठमाडौंका मेयर बालेन शाहले लेखेको स्ट्याटसका कारण उनलाई पक्राउ गरौं भनेर बैठक डाकिएको रहेछ ।'

राउतका अनुसार प्रधानमन्त्रीले उक्त बैठकमा आफुसँग सल्लाह मागेको र आफुले त्यति बेला बालेनलाई कुनै हालतमा पक्राउ गर्न हुँदैन भनेर आफूले सल्लाह दिएको बताएका छन्। उनले भनेका छन्-  'सम्माननीय प्रधानमन्त्रीजीले मलाई के गर्ने भनेर सोध्नुभयो । नयाँले नयाँलाई समर्थन गर्छ भन्ने उहाँलाई लागेको होला । मैले भनेँ, उहाँलाई कुनै हालतमा पक्राउ गर्न हुँदैन । उहाँको स्ट्याटसमा सवा लाखजति कमेन्ट आएका छन् । तीमध्ये ९५ प्रतिशतमा सरकारलाई नै गाली गरिएको छ, उहाँको समर्थन छ। तर उहाँहरूले 'के हामी चोर हौं, हामीलाई यस्तो भन्ने, पक्राउ त गर्नैपर्छ भन्नुभयो ।'

उनले अगाडी भनेका छन्- 'उहाँहरू जसरी पनि ठोक्नुपर्छ भन्ने भाषा प्रयोग गर्दै हुनुहुन्थ्यो ।' अध्यक्ष राउतले सो बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री र गृहमन्त्रीलाई रोकेको बताएका छन् ।  उनले भनेका छन्- 'लोकतन्त्र छ, यस्तो बोलिराख्छन् भनेर देउवाजीले भन्नुभयो । बोल्दैमा कहाँ आगो लगाइदियो त ! बोल्दैमा के हुन्छ ! बोल्न पाउनुपर्छ भन्ने उहाँको भनाइ थियो ।'

साथै राउतले सो बैठकमा आफुले बामपन्थी र लोकतान्त्रिक शक्तिको विचारमा कति फरक हुने रैछ भन्ने आफुले थाहा पाएको बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै