• २०८१ बैशाख १५ शनिबार

रूसी राष्ट्रपतीय निर्वाचनमा तीन नयाँ अनुहारले पुटिनसँग प्रतिस्पर्धा गर्दै

kharibot

मस्को । युक्रेनमा रूसको चुनावी अभियानका कारण उत्पन्न उथलपुथलका बावजुद रूसमा आगामी शुक्रबारदेखि आइतबारसम्म राष्ट्रपतिको निर्वाचन हुँदैछ ।  निर्वाचनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप छ वर्षको कार्यकालका लागि अनुमोदन गर्नेमा कुनै शङ्का छैन । 

चुनावी अभियानमा युक्रेन आक्रमणको विपक्षमा रहेका बोरिस नादेज्दिन र येकातेरिना डन्टसोभाले आफ्नो उम्मेदवारीको समर्थनमा दशौँ हजार हस्ताक्षर सङ्कलन गर्दै उम्मेदवारीको घोषणा गरेका थिए तर उनीहरूको उम्मेदवारी अस्वीकृत भएको छ । 

पुटिनबाहेक राष्ट्रवादी कन्जरभेटिभ लिओनिद स्लट्स्की, कम्युनिस्ट पार्टीका निकोलाई खारिटोनोभ र प्रसिद्ध व्यापारी भ्लादिस्लाभ दाभानकोभ गरी तीन जना पुटिनसँगको प्रतिस्पर्धामा रहेका छन् । तीनै जनाले युक्रेनविरूद्ध भइरहेको रूसको आक्रमणलाई समर्थन गरेका छन् ।

क्रेमलिनका आलोचकहरूले यी तीन उम्मेदवारको भूमिका विपक्षीहरूलाई दमन गरी पाखा लगाइएको वा देशभित्र उनीहरूको राजनीतिक भूमिका नै अन्त्य गरिएको समयमा मतदानमा बहुलवादी रङ भर्ने र पुटिनविरोधी आलोचनालाई कमजोर पार्ने रहेको औंल्याएका छन् । स्वतन्त्र पर्यवेक्षकहरूले पनि मतदानमा धाँधली, मतपत्रमा अनियमित रूपमा गैर–मतदाताबाट छाप हान्ने र यथास्थितिलाई समर्थन गर्न राज्यका लाखौं कर्मचारीहरूलाई प्रयोग गर्ने जस्ता कार्यहरू हुनसक्ने बताएका छन् । 

करिब एक महिना पहिले जेलमा मृत्यु भएको भनिएका विपक्षी नेता एलेक्सी नभाल्नी र उहाँकी पत्नी युलिया नाभाल्नायाले आह्वान गरेअनुसार नेता पुटिनको कार्यकाललाई लम्ब्याउन गरिने ‘तथाकथित निर्वाचन’को विरोधमा कुनै विरोध प्रदर्शन हुन सक्छ कि सक्दैन अहिले विश्वको ध्यान त्यसतर्फ गएको छ ।  गत महिना मस्कोमा नभाल्नीको अन्त्येष्टिमा हजारौं समर्थकले सरकार विरोधी नारा लगाएका थिए ।

नभाल्नीकीको मृत्युका कारण शोकमा रहेकी उहाँकी पत्नीले आफ्ना समर्थकलाई आइतबार स्थानीय समयअनुसार बिहान ९ बजे मतदान केन्द्रमा आएर पुटिनबाहेक अरुलाई मतदान गरेर वा मतपत्रमा ‘नाभाल्नी’ लेखेर मतदान रद्द गर्दै विरोध गर्न आग्रह गरेका छन् ।

निर्वाचनको परिणाममा कुनै शङ्का नभए पनि पुटिनको आन्तरिक र अन्तर्राष्ट्रिय वैधतालाई मजबुत बनाउन सरकारले कडा अभियान चलाइरहेको छ । युक्रेनमा रूसी आक्रमणको सफलताका र विपक्षीहरूको आवाज दमनमा परेको समय भएकोले नेता पुटिन अहिले सहज स्थितिमा रहनुभएको छ । कीएभका लागि पश्चिमी समर्थन र रूसविरूद्धको व्यापक प्रतिबन्धहरूको बावजुद रूसी अर्थव्यवस्था लचिलो साबित भएको छ ।

पुटिनले हालैका हप्ताहरूमा सञ्चारमाध्यममा उपस्थिति बढाएका छन् । विद्यार्थीहरूलाई भेटेका छन् । कारखानाहरूमा पुगी श्रमिकहरूको मन जित्ने कोशिश गर्दै उनीहरूको लाभका लागि व्यापक आश्वासन दिएका छन् । 

यद्यपि, रूसी राष्ट्रपतिले करिब २५अघि सत्तामा आएदेखि अहिलेसम्म चुनावी बहसमा भाग लिएका छैनन् र अहिले पनि यो सम्भावना छैन । 

गत महिना ‘स्टेट अफ द नेसन’को भाषणमा राष्ट्रपति पुटिनले विद्यालय र पूर्वाधारको आधुनिकीकरण, गरिबी निवारण,  वातावरण संरक्षण र प्रविधिको विकासका लागि अर्बौं रुबल प्रदान गर्दै बजेट प्रतिबद्धताको लामो शृङ्खलाको घोषणा गरेका थिए । कम्तीमा सन् २०३० सम्मका लागि सरकारको योजना सार्वजनिक गरिएको सम्बोधनमा पुटिनले रूसको एकता र विकासमा जोड दिएका छन् । 

यद्यपि युद्धपछि पनि रूसी अर्थव्यवस्था अपेक्षा गरेभन्दा सहज अवस्थामा देखिएको भएपनि धेरै रूसीहरू युक्रेनविरूद्धको अभियानले उत्पन्न अस्थिरताको बारेमा चिन्तित छन् भने विशेष गरी खाद्यान्नलगायत उपभोग्य वस्तुको बढ्दो मूल्यप्रति चिन्तित छन् । 

युक्रेन युद्धमा हजारौं युवा लडिरहेका वा मृत्यु भएका कारण श्रमको अभाव बढेको छ भने लाखौं अन्य मानिसहरू द्वन्द्वको विरोध गरेका कारण वा सैन्य सेवाबाट बच्न विदेश पलायन भएका छन् । आफ्ना प्रियजनलाई मोर्चाबाट फर्कन दिइयोस् भन्ने माग गर्दै आएका सैनिकका पत्नीहरूले हालैका महिनाहरूमा गरेको प्रदर्शनमा अधिकारीहरूले निकै कडाइ गरेका छन् ।

देशभरि देशभक्तिका पोस्टरहरू टाँसिएको छ, जसमा रूसीहरूलाई मतदान गर्न आह्वान गरिएको छ । चुनावी पोस्टरमा युक्रेनमा रूसी सेनाले प्रयोग गरेको ‘भी’ चिन्ह र ‘सँगै हामी बलियो छौं’ भन्ने नारा छापिएको छ र भनिएको छ, “आउनुहोस् रूसको लागि मतदान गरौं !”

पुटिनले गत डिसेम्बरमा मतदानमा सम्भावित ‘विदेशी हस्तक्षेप’ बारे चेतावनी दिँदै ‘कडा प्रतिक्रिया’ दिने प्रतिवद्धता जनाएका थिए । गत साता रूसी प्रशासनले अमेरिकी राजदूत लिन ट्रेसीलाई बोलाएर अमेरिकी आर्थिक सहयोगमा सञ्चालित गैरसरकारी संस्थाहरूले निर्वाचनबारे ‘गलत सूचना फैलाएको’ आरोप लगाएको थियो ।

जारी द्वन्द्वका बीच रूसी अधिकारीहरूले सामान्य अवस्था प्रस्तुत गर्न खोजेको विरोधाभासको सङ्केतको रूपमा युक्रेनको रूसी नियन्त्रित क्षेत्रहरूमा मतदान हुनेछ ।

रूसले सन् २०२२ मा युक्रेनका चार क्षेत्रलाई एकतर्फी रूपमा आफ्नो कब्जामा लिएको घोषणा गरेको थियो ।

अहिले रूसी कब्जामा लिइएका स्थानीय बासिन्दालाई धम्की र हिंसाको सिकार बनाइँदैछ र उनीहरूलाई मतदान गर्न बाध्य पारिदै गरिएको आरोप कीएभले लगाएको छ । मस्कोले मतदानका लागि अनावश्यक दमन र हिंसाको खेल खेलिएको भन्ने युक्रेनी आरोपको खण्डन गर्दै आएको छ । युक्रेनमा तैनाथ रुसी सैनिकले तत्काल रूसी निर्वाचनका लागि मतदान गर्ने वातावरण भने देखिएको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय