• २०८१ बैशाख १५ शनिबार

महाशिवरात्रि पर्व : बेहडाबाबा मन्दिरमा दर्शनार्थीको घुइँचो

kharibot

कैलाली। ऐतिहासिक महत्व बोकेको महाशिवरात्रिको अवसरमा धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा आज दर्शनार्थीहरूको घुइँचो लागेको छ ।

बेहडाबाबा मन्दिरमा पूजाआजा गर्नका लागि गए राति १२ बजेदेखि नै भक्तालुहरू आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए ।

कैलाली, कञ्चनपुरलगायत प्रदेशका विभिन्न जिल्लाका मानिस यहाँ दर्शनका लागि आएका छन् । यो मन्दिरको बेग्लै महत्व रहेको छ ।

त्यस्तै छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी यहाँ आउने गरेका छन् । उनीहरूमा यहाँ आएर मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास रहिआएको छ ।

बेहडाबाबा मन्दिरको दर्शनले मनमा शान्ति एवं इच्छाएको कुरा पुग्ने हुँदा यहाँ प्रत्येक वर्ष भारतको लख्खीमपुर, पलिया, पिलीभित, युपी, उत्तराखण्डलगायतका विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेका छन् । 

मन्दिर व्यवस्थापन समितिका अनुसार पाँचदेखि आठ लाख भक्तालुले पूजा गर्ने अनुमान गरिएको छ । मन्दिर परिसर नजिकै मेलाको पनि आयोजना गरिएको छ ।

मेलामा यहाँका नेपालीमात्रै नभएर भारतका व्यवसायीसमेत केही दिनअघिबाटै यहाँ आएर विभिन्न पसल सञ्चालन गरेका छन् ।

महाशिवरात्रिकै अवसर पारेर बेहडाबाबा मन्दिरमा हेलिकप्टरद्वारा पुष्प वर्षा र सवा दुई करोड बत्ती प्रज्ज्वलन गरिँदै छ ।

मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिको आयोजनामा बिहान ११ देखि १२ बजेको समयमा हेलिकप्टरबाट पुष्प वर्षा गराइने र अपराह्न ४ बजे सवा दई करोड बत्ती प्रज्ज्वलन गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए ।

हरेक वर्ष आयोजना गरिने महाशिवरात्रि मेलामा पहिलोपटक हेलिकप्टरबाट पुष्प वर्षा गरिन लागिएको उनले बताए । कैलालीको प्रसिद्ध धार्मिकस्थल मानिने बेहडाबाबालाई पर्यटकीय गन्तव्य बनाउन प्रचारप्रसार गर्न हेलिकप्टरबाट पुष्प वर्षा गराउन लागिएको आयोजकको भनाइ छ ।

पुष्प वर्षा कार्यक्रमका लागि नरेन्द्र शाहको संयोजकत्वमा रहेको टिमले रु १४ लाख नौ हजार नौ सय ५० सङ्कलन भएको छ । पुष्प वर्षाका लागि हेलिकप्टर भाडाबापत रु ११ लाख र तीन क्विन्टल फूलको रु दुई लाख गरी जम्मा रु १३ लाख खर्च हुने अनुमान गरिएको आयोजकको भनाइ छ ।

पुष्प वर्षासँगै महाशिवरात्रिमा भक्तजनका लागि महाभण्डारासमेत चलाइएको छ भने उपस्थित सम्पूर्ण भक्तजनलाई निःशुल्क खाना र पानीको व्यवस्था गरिएको छ । 

त्यस्तै धाममा भक्तजनलाई जान आउनदेखि दर्शन तथा पूजापाठ गर्नसम्मका लागि सम्पूर्ण तयारी गरिएको छ । आवतजावतका लागि बसको व्यवस्था र कडा सुरक्षाको व्यवस्था गरिएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै