• २०८१ बैशाख १६ आइतबार

वन्यजन्तु बस्ती पस्न थालेपछि स्थानीय त्रसित

kharibot

बेदकोट (कञ्चनपुर)।  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासका स्थानीयवासी वन्यजन्तुको त्रासमा छन् ।

केही सातायतादेखि बस्तीमा चितुवा र जङ्गली हात्तीको बथान देखा पर्न थालेपछि स्थानीय त्रसित बनेका हुन् । 

बस्ती तथा उखुबारीमा चितुवा देखिन थालेपछि गाउँमा त्रास उत्पन्न भएको बेलौरी नगरपालिका–८ पचुइँका मनोज चन्दले बताए ।

“चितुवाले तीन वटा कुकुर खाएको छ । चितुवा देखिएपछि गाउँभर त्रास छ”, उहाँले भन्नुभयो, “बेलुकातिर घरबाहिर निस्कनै सकिदैँन । कतिबेला के हुन्छ भनेर डराइडराइ बस्नु परेको छ ।”

चन्दका अनुसार हुलाकी सडकअन्तर्गत पर्ने खप्टीनालादेखि पुचइँसम्म जोड्ने सडकमा स्थानीय हिँडडुल गर्न डराउने गरेका छन् । घना उखुबारी हुनाले सो क्षेत्रमा चितुवा तथा हिंस्रक जनावर लुक्ने गरेको उनको भनाइ छ ।

केही दिनअघि खप्टिनाला क्षेत्र भएर मोटरसाइकलमा यात्रा गरिरहेका बेलडाँडी गाउँपालिका–३ खैरीघाटका जीवन चन्द आक्रमणमा परेका थिए ।

“चितुवा हो वा बाघ चिन्न सकिन । हेर्दा ठूलै थियो । एक्कासि हातमा झम्टेर सडकको पारीपट्टी झर्‍यो”, उनले भने, “म मोटरसाइकलबाट लडेँ । फेरि झम्टिने डरले मोटरसाइकल उठाएर भागेँ ।”

उनको हातमा पञ्जाले तिथोरेको घाउ लागेको छ । कैलालीको अत्तरियास्थित माइक्रोफाइनान्समा काम गर्ने उनि शुक्रबार र शनिबार सो बाटो भएर घर आउजाउ गर्नुहुन्छ । सो घटनापछि खप्टिनालाको बाटो भएर हिँडडुल गर्न डर लागेको उनले बताए ।  

खप्टिनाला क्षेत्रमै गत वैशाखमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको थियो । त्यसपछि उक्त हिंस्रक बाघलाई नियन्त्रणमा लिएर ललितपुरस्थित चिडियाखानामा राखिएको छ । 

सव–डिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेश यादवका अनुसार पुनर्वासमा जङ्गली हात्तीको बथान बस्तीमा देखिएको छ । पुनर्वास नगरपालिका–१० पचकडिया विकासबस्तीमा छावासहित हात्तीको ठूलो बथान बस्तीमा देखा परेको हो । 

पुनर्वास–१० मै चितुवा पनि देखा परेको उनको भनाइ छ । “हात्ती र चितुवा देखापरेपछि स्थानीयवासी त्रसित छन् । पुनर्वासमा १३-१४ को सङ्ख्याको हात्तीको बथानले खेती क्षति पुर्‍याएको छ,” उनले भने, “बेलौरी र पुनर्वासमा चितुवा पनि देखिएको छ ।” उनका अनुसार पुनर्वास–१० दोदा नदीको पुल र बेलौरीको भुडामा चितुवा देखिएको यकिन भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै