• २०८१ बैशाख १७ सोमबार

कैदी मृत्यु घटना: पीडित परिवारले राहत पाएनन्

kharibot

किमाथाङ्का । गत साउन २४ गते सङ्खुवासभाको जिल्ला  कारागार खाँदबारीमा सुरक्षाकर्मी र कैदीको कुटपिटबाट मारिएका पीडितका परिवारले अहिलेसम्म पनि राहत पाएका छैनन् । 

जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका सङ्खुवासभा मादी नगरपालिका–५ का ३० वर्षीय प्रकाश तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको  कुटपिटबाट मृत्यु भएको थियो । कारागारबाट भाग्न खोजेको आरोपमा दुई जना कैदीलाई नियन्त्रणमा लिएर सुरूमा प्रहरीले कुटपिट गरेका र कारागारभित्र बुझाएपछि त्यहाँका कैदीलेसमेत कुटपिट गरेर यातना दिएको प्रमाणित भएको थियो ।  

घटनालगत्तै जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा बसेको पीडित पक्ष र सरोकारवालाबीचको छलफलमा पीडित परिवारले राहत तथा क्षतिपूर्तिको माग गरेका थिए । गत मङ्सिर २४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले कुटपिटबाट मारिएका दुई कैदीका परिवारलाई क्षतिपूर्तिका लागि गृहमन्त्रालयमा सिफारिस गरिएको सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिए । 

यस सम्बन्धमा गृह मन्त्रालयबाट हालसम्म कुनै पनि निर्णय नआएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ । हत्यामा संलग्नताको आरोपमा सात प्रहरी र आठ जना कैदीलाई पुर्पक्षका लागि थुनामा राखिएको छ । जिल्ला अदालतको भदौ २७ गतेको आदेशले सात प्रहरीलाई जिल्ला कारागार, धनकुटा र कैदीलाई जिल्ला कारागार, तेह्रथुम पठाएको थियो । कुटपिटबाट मारिएका पीडित परिवारले क्षतिपूर्ति माग गर्दै गत भदौ २० गते गृह मन्त्रालयमा ज्ञापनपत्रसमेत बुझाएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै