• २०८१ जेठ ७ सोमबार

निर्माणाधीन रङ्गशालाको ७० प्रतिशत लागत बागमती प्रदेश सरकारले बेहोर्ने

kharibot

हेटौँडा (मकवानपुर)। चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको ७० प्रतिशत खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ । 

आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रङ्गशाला निर्माणका लागि भरतपुर महानगरसँगको सम्झौताअनुसारको स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको हो ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले महानगरपालिकासँगको सम्झौताअनुसार प्रदेश सरकारले रङ्गशालाका लागि रु ५२ करोड ५० लाखको स्रोत सुनिश्चितता गरेको जानकारी दिए ।

गत कात्तिक २१ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा सो रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले तयार गरेको रु ७५ करोडको लागत अनुमानमा प्रदेश सरकारले ७० र महानगरपालिकाले ३० प्रतिशत लागत बेहोर्ने सम्झौता भएको थियो । 

महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्तावअनुसार १० हजार दर्शक अट्ने प्याराफिट र  क्रिकेट मैदान निर्माण गर्ने निर्णय भएको मुख्यमन्त्री जम्कट्टेलले बताए ।

बैठकले भरतपुर महानगरपालिकालाई रङ्गशाला निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउन समेत आग्रह गरेको छ । 

आजको बैठकले राष्ट्रिय योजना आयोगले माग गरेअनुसार सङ्घीय समपूरक र विशेष अनुदानका लागि योजना सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले समपूरक र विशेष अनुदानका लागि १०/१० वटा योजना सिफारिस गर्ने निर्णय गरेको हो । 

बैठकले अघिल्लो आर्थिक वर्षमा निर्माण सम्पन्न भइ भुक्तानी  बाँकी आयोजनाको भुक्तानी दिने पनि निर्णय गरेको छ । 

मुख्यमन्त्री जम्कट्टेलका अनुसार केही प्रक्रियाहरु पूरा गर्नु परेका कारण निर्माण सम्पन्न भए पनि भुक्तानीमा ढिलाइ भएको र हाल भुक्तानीको  प्रक्रिया बढाइएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै