• २०८१ बैशाख २० बिहीबार

चौबीस वर्षपछि ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता

kharibot

खजुरा (बाँके)। बाँकेमा २४ वर्षपछि ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता आजदेखि सुरु भएको छ । 

नेपालगञ्जमा आयोजित प्रतियोगितामा करिब दुई सय २५ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने आयोजक बाँके जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष सञ्जय थापाले बताए । प्रतियोगितामा विभागीय खेलाडीहरूको सहभागिता रहनेछ । 

प्रतियोगिताका लागि प्रवर्द्धक राष्ट्रिय खेलकुद परिषद् लुम्बिनी प्रदेशका सदस्यसचिव जयप्रकाश भट्टराईलगायत खेलाडी नेपालगञ्ज आइसकेका छन् ।

शनिबारसम्म आयोजना हुने प्रतियोगितामा पुरुष एकल खुला, पुरुष युगल, महिला एकल, पुरुष युगल र पैँतालीस प्लस भेट्रान्स डबल्स विधामा प्रतिस्पर्धा गराइने आयोजक सङ्घका उपाध्यक्ष मीनबहादुर मल्लले बताए । 

उनका अनुसार पुरुष एकलतर्फ प्रथम हुनेलाई रु ७० हजार, द्वितीय हुनेलाई रु ३५ हजार, तृतीय हुनेलाई रु १५–१५ हजार, महिला एकलतर्फ प्रथमलाई रु ६० हजार, द्वितीयलाई रु ३० हजार र तृतीयलाई रु १५–१५ हजार, पुरुष युगलतर्फ प्रथमलाई रु ५० हजार, द्वितीयलाई रु २५ हजार र तृतीयलाई रु १५–१५ हजार प्रदान गरिने छ । 

पुरुष युगल (बि लेभल)तर्फ प्रथमलाई रु ३० हजार, द्वितीयलाई रु २० हजार र तृतीयलाई रु १०–१० हजार र पुरुष युगल (भेट्रान्स पैँतालीस प्लस)तर्फ प्रथम हुनेलाई रु ३० हजार, द्वितीयलाई रु २० हजार र तृतीय हुनेलाई रु १०–१०  हजार प्रदान गरिने सङ्घले जनाएको छ । 

“यस प्रतियोगितामा  देशमै आयोजित व्याडमिन्टन प्रतियोगिताको भन्दा बढीको पुरस्कार राशि व्यवस्था गरेका छौँ, उपाध्यक्ष मल्लले भने ।

प्रतियोगिता आयोजनाका लागि रु ३१ लाख २७ हजार लागत अनुमान गरिएकामा प्रदेश खेलकुद परिषद्ले पनि केही सहयोग गर्ने उनको भनाइ थियो ।

सङ्घका अध्यक्ष थापाले प्रतियोगिताले नेपालगञ्जमा ब्याडमिन्टनतर्फ आकर्षकण बढ्ने विश्वास व्यक्त गर्दै नयाँ खेलाडी तयार गर्न बालबालिकाहरूलाई सानैदेखि खेल्ने वातावरण तयार गर्नुपर्ने बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै