• २०८१ बैशाख २० बिहीबार

दक्षिण एसिया ब्याडमिन्टनमा कबिर र अभयको जोडीलाई रजत पदक

kharibot

काठमाडौँ । नेपालका कबिर केसी र अभय महराको जोडीले ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिपअन्तर्गत यु–१७ पुरुष युगलतर्फ रजत पदक जितेको छ । 

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को ब्याडमिन्टन कोर्टमा आज भएको फाइनल खेलमा कबिर र अभयको जोडी बङ्गलादेशका रजोन मिया र एसएसएम सिफत उल्लाहकोसँग २१–११, २१–११ को सोझो सेटमा पराजित भएको हो । 

ब्याडमिन्टन एसियाको आयोजनामा तथा नेपाल ब्याडमिन्टन सङ्घको व्यवस्थापनमा भएको उक्त च्याम्पियनसिपको यु–१७ को पुरुष एकलतर्फ पनि बङ्गलादेशका एसएसएम सिफत उल्लाहले स्वर्ण हात पारे । पुरुष युगलमा स्वर्ण जितेका उल्लाहले एकलमा श्रीलङ्काका थिदासा वेरागोडालाई २१–१६, १२–२१, २१–१७ ले पराजित गर्दै च्याम्पियनसिपमा दोस्रो स्वर्ण हात पारे । 

यसैगरी महिला एकलतर्फ श्रीलङ्काकी रनिथमा लियाङ्गेले आफ्नै देशका रनुमी मनागेलाई २१–६, २१–८ ले पराजित गर्दै स्वर्ण हात पारिन् । महिला युगलतर्फ पनि रनिथमाले रनुमी मनागेसँग मिलेर अर्को स्वर्ण जितिन् । उक्त जोडीले मालदिभ्सका ऐसत जोया हुसैन र मोहम्मद सरिफ सैबाको जोडीलाई २१–६, २१–६ को समान अन्तरले पराजित गर्दै स्वर्ण जितेको हो ।

मिक्स युगलतर्फ श्रीलङ्काका थिदासा वेरागोडा र रनिथमा लियाङ्गेको जोडीले आफ्नै देशका हिरूका अलुथ पतबेदाङ्गे र रनुमी मनागेको जोडीलाई २१–१४, २१–१६ ले पराजित गर्दै स्वर्ण पदक जित्यो ।

त्यस्तै यु–१५ तर्फ महिलाको एकलमा श्रीलङ्काकी नेथमी रत्नायकले श्रीलङ्काकै सिथुली रनसिंघलाई २१–१३, २१–१० ले पराजित गर्दै उपाधि जितिन् । नेथमीले मिक्स डबल्समा सेनुथ सेथमिता पेरेरासँग मिलेर आफ्नै देशका केनिथ अरुगोडा र सिथुली सनसिंघलाई २२–२०, २१–१२ ले पराजित गर्दै आफ्नो लागि अर्को स्वर्ण हात पारिन् । 

पुरुषतर्फ बङ्गलादेशका वाली उल्लाहले बङ्गलादेशकै मोस्तकीम होसेनलाई २१–१५, २१–१५ को समान अन्तरले पराजित गर्दै स्वर्ण जिते । मिक्स डबल्समा स्वर्ण जितेका सेनुथ सेथमिता पेरेराले पुरुष युगलतर्फ केनिथ अरुगोडासँग मिलेर बङ्गलादेशका मोस्तकीम होसेन र वाली उल्लाहलाई २१–१५, १९–२१, २३–२१ ले पराजित गर्दै आफ्नो लागि दोस्रो स्वर्ण जिते । 

महिला युगलतर्फ पनि श्रीलङ्काका सिथुली रनसिंघ र नेथिम रत्नायकेले स्वर्ण जिते । उक्त जोडीले नेपालका दिलाशा राना र रिहाना शेरचनलाई २१–१२ ,२१–४ ले पराजित गर्दै स्वर्ण हात पारेका हुन् । श्रीलङ्काले यस च्याम्पियनसिपमा विभिन्न विधामा नौ स्वर्णपदक हात पारेको छ । यस्तै बङ्गलादेशले तीन स्वर्ण हात पार्यो । 

विजेता खेलाडीलाई ब्याडमिन्टन एसियाको डेभलपमेन्ट चेयर वाजिद अली चौधरी, नेपाल ब्याडमिन्टन सङ्घ तदर्थ समितिका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो । पाँच दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका छ राष्ट्रका खेलाडीको सहभागिता रहेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै