• २०८१ बैशाख १७ सोमबार

ट्रम्प राष्ट्रपतिको उम्मेदवार बन्न पाउने-नपाउने विषयमा सर्वोच्च अदालतले निर्णय गर्ने

kharibot

वाशिंगटन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न पाउने या नपाउने भन्ने विषयको निर्णय अब सर्वोच्च अदालतले गर्ने भएको छ । अमेरिकी सर्वोच्च अदालतले आगामी फेब्रुअरी ८ मा यस विषयमा निर्णय लिने भएको हो ।

पूर्वराष्ट्रपति ट्रम्प आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न नपाउने कोलोराडोको सर्वोच्च अदालतको फैसलाविरुद्ध परेको पुनरावेदनमा सर्वोच्चले फेब्रुअरी ८ मा सुनुवाइ गर्न लागेको हो । कोलोराडोको फैसलाविरुद्ध ट्रम्पका वकिलहरूले लाखौँ मतदाताको अधिकार खोस्न खोजेको आरोप लगाएका छन् । 

सन् २०२० को नोभेम्बरमा भएको राष्ट्रपति चुनावको नतिजालाई ट्रम्पले स्वीकार नगरेको र २०२१ को जनवरी ६ मा संसद् भवनमा दङ्गा गर्न उक्साएको मुद्दा ट्रम्पमाथि लागेको छ । उनी फौजदारी मुद्दा लागेका अमेरिकाका  पहिलो पूर्वराष्ट्रपति हुन् । देशद्रोह गरेकाले  संघीय वा राज्यको सार्वजनिक पदधारण गर्न नमिल्ने आरोप उनीमाथि लागेको छ । 

कोलोराडोमा रिपब्लिकनको प्राइमरी निर्वाचन मार्च ५ मा तय भएको छ । त्यसअगावै ट्रम्प आफ्नो पक्षमा न्यायिक निरूपणको खोजीमा छन् । सर्वोच्च अदालतमा ६ जना रिपब्लिकन र तीन जना डेमोक्रेटिक पार्टीका राष्ट्रपतिले नियुक्त गरेका न्यायाधीश छन् । जसमा  तीन जना ट्रम्पले नियुक्त गरेकाहरू छन् ।

कोलोराडो र मैन राज्यमा ट्रम्पलाई राष्ट्रपति उम्मेदवार बन्न अदालतले रोकेपछि उनी आगामी निर्वाचनमा उम्मेदवार बन्ने नबन्ने अन्योल रहेका बेला सर्वोच्चले यस विषयमा आफ्नो निर्णय दिने बताएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै