• २०८० फाल्गुण २० आइतबार

उडानका क्रममा विमानको झ्याल फुटेपछि...

kharibot

वासिङ्टन । अमेरिकाको ओरेगन राज्यमा १७७ जना यात्रु बोकेको अलास्का एयरलाइन्सको विमानलाई शुक्रबार आपतकालीन अवतरण गराइएको छ ।

‘फ्लाइट १२८२’ को विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार साँझ ५: ०० बजे उडेको र विमानमा ‘चालक दलले चापको समस्या भएको रिपोर्ट गरेपछि’ सुरक्षित रूपमा फर्काइएको थियो,” सङ्घीय उड्ययन प्रशासनले एक्स (ट्वीटरमा)मा लेखेको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरमा विमानको झ्यालको शिशा फुटेको र छतमा इमर्जेन्सी अक्सिजन मास्क झुण्डिएको देखिएको छ ।

विमानमा सवार यात्रु काइल रिङ्करले सिएनएनलाई बताएअनुसार उडान भरेको केही बेरमै झ्याल फुटेको थियो । “यो वास्तवमा अचानक थियो । झ्याल भर्खरै बन्द भएको र विमान भर्खर उचाईमा पुगेको थियो । अक्सिजन मास्क बन्द नभएसम्म यसलाई महशुस गरिएन,” उनले भने । 

अर्का यात्रु भि गुयेनले न्युयोर्क टाइम्सलाई बताएअनुसार उडानका क्रममा आएको चर्को आवाजले उहाँलाई ब्यूँझाएको थियो । “मैले आँखा खोल्दा सबैभन्दा पहिले मेरो अगाडि अक्सिजन मास्क देखेँ”, गुयेनले न्युयोर्क टाइम्ससँग भने, “त्यसपछि मैले बायाँतिर हेर्दा विमानको झ्यालको शिशा थिएन ।”  “जव मैले घटनालाई नजिकबाट देखेँ, पहिलो कुरा त मैले सोचें, ‘म मृत्युको मुखमा जाँदैछु’,” उनले थपे । 

राष्ट्रिय यातायात सुरक्षा बोर्ड, एफएए र अलास्का एयरलाइन्सले घटनाको अनुसन्धान गरिरहेको बताएका छन् । 

“छ जना चालक दलका सदस्यसहित १७१ जना यात्रु लिएर विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको छ,” एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ । “यस प्रकारको घटना विरलै हुने भए तापनि हाम्रो विमानका चालक दललाई तालिम दिइएको थियो र स्थितिलाई सुरक्षित रूपमा व्यवस्थापन गर्न तयार पारिएको थियो,”

विज्ञप्तिमा भनिएको छ ।बोइङ ७३७ म्याक्स ९ विमानले क्यालिफोर्नियाको ओन्टारियोका लागि साँझ ५: ०७ बजे उडान भरेको थियो भने करिब २० मिनेटपछि विमानस्थलमा फर्किएको ‘फ्लाइट ट्रयाकिङ वेबसाइट (फ्लाइटअवेयर)’ले जनाएको छ । फ्लाइटअवेयरका अनुसार यसलाई अक्टोबरमा एयरवर्थी प्रमाणित गरिएको थियो।

बोइङले थप जानकारी सङ्कलन भइरहेको र प्राविधिक टोली अनुसन्धानका लागि सहयोग गर्न तयार गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै