• २०८१ बैशाख १७ सोमबार

आफ्नै सरकारको आलोचना किन गर्दैछन् काँग्रेसका नेताहरु ?

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक बर्ष पुरा हुदै गर्दा अब उनको नेतृत्वको सरकारले निरन्तरता पाउने विषयमा अनेक आशंका उब्जिएका छन् । प्रधानमन्त्री प्रचण्ड आफैले 'नयाँ धक्का' दिने अभिव्यक्ति दिएपछि केहि हदसम्म राजनीति तरंगित भएपनि उनको यो रणनीतिक अभिव्यक्ति भएको विश्लेषण गरिएको छ । प्रधानमन्त्री प्रचण्डले जति कडा अभिव्यक्ति दिएपनि उनीसँग संसदमा बहुमतका लागि कांग्रेस या एमालेसँग भरपर्नुको विकल्प नरहेको स्पष्ट नै छ ।

तर एक बर्षको प्रचण्ड सरकारको कामप्रति प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र नै असन्तुष्टि बाहिर आउन थालेको छ । प्रधानमन्त्री तथा मन्त्रीहरूको कार्यशैलीप्रति कांग्रेसका शिर्ष नेताहरुले सार्बजनिक रुपमा नै असन्तुष्टि पोख्न थालेपछि सरकारको आयुकै विषयमा प्रश्न उठ्न थालेको छ ।

पार्टीका संस्थापन इत्तर समूहका नेता शेखर कोइराला, महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, युवा नेताहरू प्रदीप पौडेलसहितका नेताहरुले लगातार सरकारको सरकारका कामको आलोचना गर्दै आएका छन् । उनीहरुले प्रधानमन्त्री र मन्त्रीहरूको कार्यशैली चित्तबुझ्दो नभएको र परिणाम समेत दिन नसकेको उनीहरूको निष्कर्ष छ ।

कम बोल्ने सभापति शेरबहादुर देउवाले सरकारको खासै टिप्पणी गरेको देखिदैन किनकी अहिले सत्ताको साचो उनीसँग नै छ । त्यस्तै उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरूङ आफैँ सरकारमा रहेकाले सरकारको आलोचना गर्ने कुरै भएन । 

हाल देशैभरि पार्टीका सम्मेलन गरिरहेको कांग्रेसका जिल्ला र प्रदेशका ठूलठूला सभा र सम्मेलनहरूमा नेताहरूले सरकारको आलोचना गरेका छन् । कांग्रेसका कार्यक्रममा नेताहरुले प्रदेशलाई अधिकार सम्पन्न बनाउन  नसकेको, सुशासन दिन नसकेको, आम जनताको सरकारका लागि काम गर्न नसकेको, महंगी नियन्त्रण गर्न नसकेको, युवाहरुलाई विदेश जनाबाट रोक्ने कार्यक्रम ल्याउन नसकेको जस्ता आरोप कांग्रेस नेताहरुले सरकारमाथि लगाइरहेका छन् ।

कांग्रेस नेताहरुले सरकारको आलोचना गरेपनि आफै सरकारमा रहेकाले पहिउलो प्रश्न आफै तिर सोझिएको भने विर्सेको देखिन्छ । सरकारको प्रमुख दल भएको हैसियतमा सरकारले काम गर्न सकेन भने पार्टी भित्र छलफल गरेर सरकारलाई प्रभावकारी बनाउने वा सरकारबाट बाहिरिने विकल्प हुन्छन् । तर कांग्रेस नेताहरुले आफ्नै सरकारको विरोध गरेर वा आफ्नै विरोध गरेर राजनीतिक अपरिपक्कता देखाएका छन् । देश आर्थिक संकटमा छ, अर्थमन्त्री कांग्रेसकै छन् तर कांग्रेसकै नेताहरु सरकारले काम गर्न सकेन भन्दै छन् । अहिलेको राजनीतिमा नमिलेको कुरा नै अहि हो । आफै सरकारमा बसेर देश संकटमा छ भनेको कति सुहाउछ ? कांग्रेस नेताहरुले बोल्नुभन्दा अफ्ही सोच्ने विषय होइन र ?

कांग्रेसमा अहिले सभापति देउवाको विरोध गर्नेहरु एक ठाउमा उभिएर सरकारलाई निशाना बनाएको देखिन्छ । अहिले कांग्रेस भित्रको अंक गणितमा देउवा बलियो रहेपनि अहिले डा. शेखर कोइरालासहितका नेताहरुले सरकारलाई निशाना बनाएर देउवामाथि आक्रमण गरेको सजिलै बुझ्न सकिन्छ । तर उनीहरुले आफ्नै सरकारको विरोध गरेर आम जनताको अगाडी कांग्रेसलाई नै कमजोर बनाएको भने विर्सेका छन् । 

कसले के भने ?

शनिबार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बागमती प्रदेशको अधिवेशनमा बोल्दै प्रधानमन्त्री र मन्त्रीहरू पार्टीका कार्यक्रम र भाषणमा मात्रै सीमित भएको टिप्पणी गरे । उनले भने-  ‘प्रधानमन्त्री र मन्त्रीजीहरू भाषण गरेर हिडेर मात्रै भएन । पार्टी कार्यालय र सभाहरूमा चर्को भाषण गरेरमात्रै केही हुदैन । तपाईहरू जहाँ हुनुपर्ने हो, त्यहाँ भइदिनुस् । मन्त्रालयमा बसेर काम गर्नुस् । देशमा समस्या छ, समाधान गर्ने ठाउँहरू तपाईहरू हुनुहुन्छ । तपाईहरू नै मञ्चमा उभिएर देश संकटमा छ भनेको सुहाउँदैन ।’

उनले अहिले कांग्रेस पूर्णरुपमा सरकारमा नभएको, र कांग्रेसका केही प्रतिनिधिहरू मात्रै सरकारमा सहभागी भएको दाबी गरे । उनले भने- ‘अहिले कांग्रेस सरकारमा छ । तर यो सरकार कांग्रेसको होइन । हाम्रो पार्टीका केही साथीहरू प्रतिनिधिकारुपमा मात्रै सरकारमा सहभागी हुनुभएको हो । सिंगो पार्टी सरकारमा गएको होइन, सरकारले गरेका गलत कामको भारी कांग्रेसलाई बोकाउन मिल्दैन ।’

त्यस्तै सोहि कार्यक्रममा केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि सरकारको चर्को आलोचना गरे । उनले भने- ‘प्रधानमन्त्री र मन्त्रीहरू देश ठीकठाक चलिरहेको छ भनेर भाषण गर्दै हिड्नुहुन्छ । वास्तवमा यसको कुनै अर्थ छैन ।  देश ठीक ठाक चलिरहेको छैन । यदि त्यस्तो भएको भए तपाईहरूले ठीकठाक भन्नुपर्ने थिएन, जनता आफैँले भनिहाल्थे । मन्त्रीजीहरू यहाँ आएर हामीलाई अफ्ठ्यारो छ भनेर सुनाउनुपर्दैन, मन्त्रालयमा बसेर काम गर्नुंस् । मलाई फोन गरेर यस्ता यस्ता राम्रा कामहरू गरेको छु भन्नुस् । म तपाईको प्रशंसा गरेर देश डुल्छु । जनतालाई सुनाउँछु । तर अहिलेसम्म पनि मैले कसैको प्रशंसा गर्न पाएको छैन ।’

त्यसैगरी पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि सरकारले कानूनहरू बनाउन ढिला गर्दा समस्या उत्पन्न भएको बताए । उनले भने- ‘सरकारले पहिल्यै बनाइसक्नुपर्ने कानूनहरू अहिलेसम्म पनि बनेका छैनन् । त्यहीकारण प्रदेशले अधिकार पाएको छैन । जतिसक्दो छिटो प्रदेशको अधिकारसम्बन्धी कानूनहरू निर्माण हुनु आवश्यक छ ।’

त्यस्तै केहिदिन अघि कांग्रेस महामन्त्री गगन थापाले भने प्रधानमन्त्रीको एक वर्षे कार्यकाललाई १० अंक मात्रै दिन सकिने बताएका थिए । उनले भने- ‘यो सरकारले काम गर्न सकेन । प्रधानमन्त्रीले नतिजा दिन सक्नुभएको छैन । म १०० पूर्णांङ्कमा प्रधानमन्त्रीको एक वर्षे कायकाललाई मूल्यांकन गर्दा १० अंक मात्रै दिन्छु ।’

त्यस्तै डा. शेखर कोइरालाले त प्रधानमन्त्री दाहालले काम गर्न नसकेको, अब पनि नसच्चिए कुर्सी छोड्नुपर्ने भन्दै आएका छन् । उनले भनेका छन्- ‘सरकारले ठीक ढंगले काम गर्न सकेको छैन । सरकार सच्चिन जरुरी छ । यदि नसच्चिने हो भने प्रधानमन्त्रीले कुर्सी छोड्नुपर्छ, अर्को सरकारले ठीक ढंगले काम गर्छ,’ कोइरालाको भनाइ छ । 

प्रधानमन्त्री दाहाल ०७९ को पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए । तर कांग्रेसबाट भने चैत १७ मा मात्रै मन्त्रीहरू सरकारमा सहभागी भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै