• २०८१ बैशाख १६ आइतबार

ज्येष्ठ नागरिकलाई पोसाक भत्ता

kharibot

फिक्कल (इलाम)। इलामको एक स्थानीय तहले ज्येष्ठ नागरिकलाई समेत पोसाक भत्ता उपलब्ध गराउँदै आएको छ । 

जिल्लाको देउमाई नगरपालिकाले नगरभित्रका ७० वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई रु दुई हजारका दरले पोसाक भत्ता उपलब्ध गराउँदै आएको हो । उनीहरुलाई नगरपालिकाले प्रत्येक पहिलो त्रैमासिकमै पोसाक भत्ता उपलब्ध गराउँदै आएको लेखा अधिकृत गजेन्द्र येक्तनले जानकारी दिए ।  

चालु आर्थिक वर्षमा नगरभित्र स्थायीरुपमा बसोबास गर्ने एक हजार सात सय ५४ ज्येष्ठ नागरिकले पोसाक भत्ता पाएका छन् । उनीहरुले यस वर्ष मात्र रु ३५ लाख आठ हजार पोसाक भत्ता प्राप्त गरेको उनले बताए । 

गएको आव २०७९/०८० मा एक हजार पाँच सय ७६ जना ज्येष्ठ नागरिकले रु ३१ लाख ५२ हजार पोसाक भत्ता लिएका थिए । ज्येष्ठ नागरिकले वर्षमा एकपटक न्यानो नयाँ लुगा लगाउन् भन्ने उद्देश्यले यस्तो कार्यक्रम ल्याइएको नगरप्रमुख सूर्य पोख्रेलले बताए ।

“शिक्षक, तथा सरकारी निकायका कर्मचारीलाई नेपाल सरकारले वर्षमा एकपटक पोसाक भत्ता दिन्छ, तर ज्येष्ठ नागरिकलाई दिँदैन”,नगर प्रमुख पोख्रेलले भने, “ज्येष्ठ नागरिकलाई पनि चाडबाडमा नयाँ लुगा लगाउन मन लाग्छ । यसर्थ वर्षमा एकपटक नयाँ न्यानो लुगा लगाउन् भनेर नगरले यस्तो कार्यक्रम सुरु गरेको हो ।” 

पोसाक भत्ता पाउनका लागि देउमाई नगरभित्र स्थायी बसोबास भएको ज्येष्ठ नागरिक हुनुपर्छ । नगरपालिकाले ज्येष्ठ नागरिकलाई पोसाकका लागि चालु आवमा रु ३६ लाख विनियोजन गरेको थियो । 

दीर्घरोगीलाई औषधि खर्च

यसैगरी उक्त नगरपालिकाले दीर्घरोगीलाई औषधि खर्चवापत वार्षिक रु पाँच हजार पनि उपलब्ध गराउँदै आएको छ । गत वर्ष नगरपालिकाले ४० दीर्घरोगीलाई रु दुई लाख उपलब्ध गराएको थियो । चालु आवको पहिलो त्रैमासिकमा ११ दीर्घरोगीले रु ५५ हजार प्राप्त गरेको लेखा अधिकृत येक्तेनले जानकारी दिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै