• २०८१ बैशाख १६ आइतबार

पल शाहविरुद्धको मुद्धा दोहोर्‍याएर हेर्न सर्वोच्च अदालतको अनुमति

kharibot

काठमाडौँ । नाबालिग बलात्कारको आरोप लागेका अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई सफाइ दिने उच्च अदालत पोखराको फैसलालाई सर्वोच्च अदालतले दोहोर्‍याएर हेर्ने अनुमति दिएको छ ।

उच्च अदालत पोखराको फैसलाविरुद्ध २०७८ गैंडाकोट ५ (ख)ले सर्वोच्च अदालतमा दोहोर्‍याएर हेरि पाउँ भन्दै निवेदन दिएको थियो । उक्त निवेदनमाथि मंसिर २२ गते सर्वोच्चमा सुनुवाइ भएको थियो ।

अघिल्लो वर्ष उच्च अदालत पोखराका तत्कालीनद्वय न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दावी नपुग्ने भन्दै पललाई सफाइ दिएको थियो । यो फैसलासँगै पल एक वर्षमा जेलबाट मुक्त भएका थिए । त्यसअघि नवलपुर जिल्ला अदालतले उनलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति सुनाएको थियो ।

उच्च अदालत पोखराले पीडितको बकपत्र र प्रतिवादीको बयान, शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादीबीचको अडियो रेकर्डको समुचित मूल्यांकन नगरिएको, प्रमाण ऐन तथा मुलुकी अपराधसंहिताको व्याख्यात्मक त्रुटी तथा प्रतिपादित सिद्धान्त समेतको प्रतिकुल भएको भन्दै सर्वोच्च अदालतले पलविरुद्धको मुद्धालाई दोहोर्‍याएर हेर्ने अनुमति दिएको हो ।

पल शाहले एक म्यूजिक भिडियो सुटिङका क्रममा जर्बजस्ती करणी गरेको भन्दै एक नाबालिगले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । तर पछि तनहुँ र नवलपुर अदालतमा बकपत्र गर्दा नाबालिगले आफूमाथि बलात्कार नभएको बयान दिएकी थिइन् । त्यही आधार देखाएर पललाई उच्च अदालत पोखराले सफाइ दिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय