• २०८१ बैशाख १५ शनिबार

मुस्लिम समुदायका अगुवाले भाइटीका लगाएर मनाए तिहार

kharibot

जानकी (बाँके) । बाँकेको नेपालगञ्जमा तिहाको दिन मुस्लिम समुदायका अगुवाले आफुले मानेको दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मानेका छन् । बाँकेका वरिष्ठ समाजसेवी तथा मुस्लिम अगुवा प्रवेजअलि सिद्धिकीले आज हिन्दू धर्मलाई अनुशरण गर्ने दिदीबहीनीको हातबाट भाइटीका लगाएर तिहार मनाउनु भएको हो । 

धार्मिक सद्भावलाई कायम राख्न र दिदीभाइको सम्बन्ध सुमधुर बनाउन आफूले तिहारको भाइटीका लगाएको प्रवेजले बताए । उनले दिदी माया थापा र बहिनी मीना तुलाधरको हातबाट झण्डै दुई दशकदेखि भाइटीका लगाउँदै आएको बताए । 

‘म आफु ३५ वर्षको हुँदादेखि नै दिदीबहीनीको हातबाट भाइटीका लगाउँदै आइरहेको छु । अहिले म ५४ वर्षको भएँ । यो सम्बन्ध केवल सामाजिक सद्भावको मात्र नभई दिदीभाइ र दाजुबहिनीबीचको प्रेमको सम्बन्ध पनि हो ।’ सिद्धिकीलाई भाइटीका लगाउन दिदी माया र बहिनी मीना नेपालगञ्जस्थित बौद्धगुम्बा टोलमा रहेको सिद्धिकीको घरमा जानु भएको उनले बताए ।  

सामाजिक अभियानकर्मी सिद्धिकी पर्वका बेला एकअर्कासँग मिलेर खुसी साट्ने गरेको बताउछन्,‘हिन्दूले मुस्लिमको चाडलाई मनाउँछन् र मुस्लिमले पनि हिन्दूको चाडपर्वलाई हर्षोल्लासका साथ हामी यसैगरी मनाउँदै आइरहेका छौँ ।’ उनले भने,“दुवै समुदाय एकअर्काको पर्वमा सहभागी हुने र मनाउने यहाँको परम्परा बनिसकेको छ ।” सिद्धिकी वर्षाँैंदेखि हिन्दू समुदायले मनाउने सबै प्रकारका चाडपर्वलाई मानेर रमाउँदै आइरहेका छन् । 

त्यसैगरी बाँकेका मुस्लिम अगुवा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले पनि आफूले मानेको बहिनीको हातबाट भाइटीका लगाएर तिहार हर्षोल्लासका साथ मनाएका छन् । उनले बहिनीको हातबाट भाइटीका लगाएको तस्बिर आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा ‘ह्याप्पी तिहार’ भनेर पोष्ट गरेका छन् । उनले दसैंँ, तिहार, रक्षाबन्धन, होली जस्ता चाडपर्व सधैँ यसरी नै मिलेर मनाउने गरेको बताए । ‘हामी सद्भावको सहरमा छौँ । यो सहर आफैँमा एउटा धार्मिक परम्पराअनुसार मिलेको सहर हो । यहाँ मुस्लिमले हिन्दूको मात्र नभई हिन्दू समुदायले पनि हाम्रा चाडपर्वलाई यसैगरी हर्षोल्लासका साथ मनाउने गर्नुहुन्छ ।’ उनले भने,“मेरो अन्य समुदायको धर्म र आस्थाप्रति मनदेखि नै सम्मान छ ।

टीका थाप्दा मैले मान्ने हिन्दू समुदायका मान्यजनलाई खुसी मिल्छ र उहाँहरू खुसी हुँदा मलाई पनि खुसी मिल्छ, भने त्यो खुसीमा हामी अवस्य सहभागी हुन्छौँ र हुनैपर्छ ।” मुस्लिम अगुवा मन्सुरीले मुस्लिमका चाडपर्व ईद, बकरईद, मोहर्रम तथा मोहम्मद डे मा हिन्दू समुदायका मान्यजनलाई बोलाएर उनीहरूसँग रमाउने गरेको बताए । बाँकेमा हिन्दू र मुस्लिम समुदायले वर्षौंदेखि एकआपसमा मिलेर दुवै समुदायका चाडपर्व मनाउँदै आएको उनको भनाइ छ । 

तिहारको अवसरमा भाइटीकाको दिन मुस्लिम धर्मगुरू मौलाना अब्दुल जब्बार मन्जरीले बागेश्वरी मन्दिरका मूल महन्थ चन्द्रनाथ योगीलाई शुभकामना दिएका छन् । दुवै समुदायका धर्म गुरूले एकता र सद्भावका लागि संयुक्त रूपमा सबै एकआपसमा मिलेर बस्न आग्रहसमेत गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै