• २०८१ बैशाख ३१ सोमबार

'लोकतान्त्रिक शासन प्रणालीमाथि भएका प्रहारको सबै दल मिलेर प्रतिकार गर्ने प्रतिबद्धता’

kharibot

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सबल तुल्याउँदै समृद्धिको आधार तयार गर्न प्रमुख राजनीतिक दलहरू एकमत भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको सर्वदलीय बैठकमा सहभागी नेताहरूले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमाथि चौतर्फी प्रहार भइरहेका बेला त्यसको प्रतिकार सबै दल मिलेर गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

विस्तृत शान्ति सम्झौता तथा त्यसपछि भएका सहमति एवं शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा छलफल भएको बैठकमा सहभागी नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले जानकारी दिइन् ।

विगत केही दिनदेखि निरन्तररूपमा सामाजिक सञ्जालबाट भइरहेका गलत प्रचारप्रसारलाई नियन्त्रण एवं नियमन गर्दै लोकतान्त्रिक अधिकार सुरक्षित गर्ने विषयमा पनि राजनीतिक दलहरू सहमत भएका उपाध्यक्ष भुसालले बताए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय लोकतन्त्रप्रति सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका थिए । उनले सबै दलहरूबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधानको रक्षाका लागि एकताबद्ध हुन आग्रह गरेका थिए । 

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा(समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका नेताको सहभागिता रहेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै