• २०८१ बैशाख २० बिहीबार

जाजरकोटका ७ गम्भीर घाइते भेरी अस्पताल ल्याइयो

kharibot

बाँके । जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएराति गएको भूकम्पमा परी घाइते भएकाहरुको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।

सो अस्पतालमा जाजरकोटबाट सातजना घाइते ल्याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

जाजरकोटको खलङ्गाकाबाट बिहान ३ बजे एम्बुलेन्सले घाइतेहरुलाई नेपालगञ्ज भेरी अस्पताल ल्याएको थियो ।

घाइते बिरामीहरुको शनिबार बिहान ३ बजेदेखि नेपालगञ्जको भेरी अस्पतालमा उपचार सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पवनजङ्ग रायमाझीले जानकारी दिए ।

उनका अनुसार भूकम्पमा परी घाइते सातजनाको भेरीमा उपचार भइरहेको छ भने दश जनालाई हेलिकप्टरबाट राँझा ल्याइँदै छ ।

घाइते बिरामीहरुको उपचारका लागि निजी अस्पताललाई पनि तयारी अवस्थामा राखिएको प्रजिअ पोखरेलले बताए ।

बाँकेमा रहेका भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको एक सय पाँचवटा शय्यासमेत तयारी अवस्थामा राखिएको उनले बताए । 

प्रजिअ पोखरेलेका अनुसार हेलिकप्टरबाट ल्याइने बिरामीका लागि राँझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा एम्बुलेन्स तैनाथ गरिएको गरिएको छ ।

हाल अस्पतालहरुमा रगतको मौज्दात रहेको बताउँदै उनले रक्तदाता सुरक्षाकर्मीको पनि व्यवस्था मिलाइएको बताए ।

गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा परी ठूलो जनधनको क्षति भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै