• २०८१ बैशाख १८ मंगलबार

ओलम्पिकमा समावेश भयो क्रिकेट, टी-२० फर्म्याटमा खेलिने

kharibot

काठमाडौँ । ओलम्पिकमा क्रिकेटको १२८ बर्षपछि पुनरागमन भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा क्रिकेटसहित पाँच खेललाई समावेश गर्ने निर्णय गरेको हो ।

मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको १४१औं सेसनले २०२८ को लस एन्जलसमा हुने ओलम्पिकमा क्रिकेटसहित फ्ल्याग फुटबल, बेसबल/सफ्टबल, लाक्रोसे र स्क्वासलाई समावेश गर्ने निर्णय गरेको हो ।

लस एन्जलस ओलम्पिक २०२८ मा पुरुष र महिला क्रिकेट टी-२० फर्म्याटमा हुने छन् । क्रिकेट समावेश गर्ने निर्णय गरेपनि यसमा सहभागी हुने देशको टुंगो कसरी लाग्छ भन्ने बारेमा भने अहिले नै स्पष्ट भएको छैन । 

यस पटकको एसियाली खेलकुदमा क्रिकेट समावेश गरिएको थियो । पुरुष र महिला दुवै विधामा भारतले स्वर्ण पदक जितेको थियो भने नेपाल पुरुष क्रिकेटमा क्वाटरफाइनल खेलेको थियो । क्रिकेटको टी–२० फर्म्याट एशियन गेम्समा सफल भएपछि अब ओलम्पिकमा पनि समावेश हुन थालेको हो ।

ओलम्पिकमा क्रिकेट खेलिएको यो पहिलो पटक भने होइन । यसअघि पेरिस ओलम्पिक (सन १९००) मा पनि क्रिकेट खेलिएको थियो । त्यसपछि ग्रेट ब्रिटेन र फ्रान्सले स्वर्ण पदकका लागि एउटा मात्र टेस्ट खेल खेले, जसमा ग्रेट ब्रिटेनको टोलीले १५८ रनले जितेको थियो ।

सन् १९९८ र २०२२ मा दुई पटक राष्ट्रमण्डल खेलमा पनि क्रिकेट समावेश गरिएको थियो । क्रिकेटले सन् २०१०, २०१४ र २०२३ मा तीन पटक एसियाली खेलकुदमा स्थान पायो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै