• २०८१ बैशाख २२ शनिबार

भारतीय पर्यटकलाई २५ हजारभन्दा बढी ल्याउन नदिने नियमले पर्यटन क्षेत्र प्रभावित

kharibot

भैरहवा । स्थलमार्ग भई नेपालतर्फ आउने पर्यटक र भारतीय गाडीलाई सुरक्षाकर्मीहरुले चेकजाँचको नाममा दुख दिने गरेको व्यवसायीहरुले गुनासो गरेका छन ।

उनीहरु ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ४-५ ठाँउको चेकिङ पास गरेर मात्रै भैरहवा छोड्ने गरे पछि उनीहरू हैरान भएका हुन ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको दशौ वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन कार्यक्रममा बोल्दै पर्यटन सम्बद्ध अधिकांस व्यवसायीको माग नै अन्य पर्यटक जस्तै भारतिय पर्यटकलाई व्यवहार गर्नु पर्ने बताए ।

सिमाबाट प्रवेश गर्नासाथ इलाका प्रहरी कार्यालय, भन्सारमा खटिएको कर्मचारी र सुरक्षाकर्मी, बाइपास, डण्डामाम सशस्त्र र ट्राफिक प्रहरी कार्यालय अगाडीको चेक पोस्टमा भारतिय गाडीलाई रोकेर मात्रै भैरहवाबाट बाहिरिन दिइएको छ । यी त नियमित चेकजाँच हुन, यसका साथै यो ५ किलोमिटरको दुरीमा अस्थायी चेकजाँचको टोलीले पनि गाडी रोक्ने गरेको उनीहरुको भनाई छ ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले नेपालमा आउने भारतीय पर्यटकले बढी खर्च गर्ने भए पनि सीमित रकम मात्र ल्याउन पाउने प्रावधानले पर्यटन क्षेत्रमा असर पुगेको बताए ।

चेकजाँचको नाममा पाइला पिच्छे दुख दिनु र भारु २५ हजार रुपैयाँ भन्दा बढी ल्याउन नदिदाँ अहिलेको यस क्षेत्रको पर्यटनको मुख्य आधार भारतीय पर्यटकको आउने क्रममा कमी भएको छ ।

कार्यक्रममा बोल्दै होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष दिनेश कुमार चुकेले प्रहरी प्रशासन र होटल व्यवसायी बीच मित्रवत सम्बन्ध भए मात्र पर्यटन व्यवसाय फस्टाउन सक्ने बताए ।

अध्यक्ष चुकेले समय सापेक्ष व्यवसायीहरु पनि व्यवसायिक हुनुपर्ने, होटल व्यवसायीहरुका समस्या समाधानमा  सरकारले प्राथमिकता दिनुपर्ने र पर्यटनको पहिलो आधार होटल व्यवसायलाई सबै पक्षबाट संरक्षण गरिनु पर्ने बताए । होटलमा कार्यरत कर्मचारीलाई सरकारले तालिम दिनुपर्ने यसमा स्थानीय सरकारको पनि दायित्व छ ।

सरकारी भन्दा कयौँ गुण बढि निजी क्षेत्रको लगानी हुदाँ पनि सरकार गम्भिर नभएकोले पर्यटन व्यवसायमा चुनौतीहरु थपिएको उनले बताए ।

होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले ‘भारतीय पर्यटकले नेपालमा आएर धेरै खर्च गर्ने भए पनि २५ हजार भारु मात्र बोकेर आउन पाउने नियमले उनीहरुले खर्च गर्न सकेका छैनन् ।

सीमा नाकामा भारतीय पर्यटकलाई सहजीकरण गर्नुको साटो दुःख दिनु गलत रहेको बताए । उनले  राज्यको गलत नीतिका कारण होटल व्यवसाय धरापमा परेको बताउदै राज्यले पर्यटन व्यवसायका लागि ठोस कदम चाल्न नसक्दा कोरोना पछि अधिकांश होटलहरु बन्द भई कयौं मजदुरको रोजगारी खोसिएको बताए । अहिले विविध ति कारण नेपाली व्यवसायीहरु विदेश पलायन हुन बाध्यात्मक अवस्था आएको बताए ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बुद्धभुमिमा बसेर अनैतिक काम गर्ने छुट कसैलाई नहुने् भन्दै मर्यादित व्यवसायको पक्षमा सबै एकमत हुनुपर्ने धारणा राखे । उनले होटल तथा रेष्टुरेण्ट व्यवसायका नाममा बाल श्रमलाई प्रोत्साहन तथा अवाञ्चित क्रियाकलाप गर्न नहुने बताए । उनले जायज कुराका लागि हातेमालो गर्ने बताए । उनले भने, ढुक्कका साथ शान्ति सुरक्षाकासाथ व्यवसाय सञ्चालन गर्नुहोस् ।

कानुनभित्र रहेर व्यवसाय गर्ने व्यवसायीको पक्षमा प्रशासन सधै साथमा रहने उनले प्रतिवद्धता व्यक्त गरे । आफ्नो व्यवसाय संचालन गर्ने कुनै पनि व्यवसायीले सामाजिक जिम्मेवारीलाई पनि विर्सिन नहुने प्रजिअ अर्यालले बताए । कार्यक्रममा  सिद्धार्थ उद्योग  वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले नीजि क्षेत्रका सवालमा सरकारी पक्ष गम्भिर बन्न नसक्दा अहिलेको अवस्था आएको बताए ।

गोरो छाला भएकालाई मात्र पर्यटक मान्नु गलत भएको बताए । उनले सबैभन्दा बढी खर्च गर्ने पर्यटक भनेकै भारतीय पर्यटक रहेको तर धेरै ठाउँमा चेकजाँचले पर्यटकले सास्ती खेप्नुपरेको बताए । सिद्धार्थनगरमा रात्रीकालिन बजारको अवधारणा गरिएपनि प्रशासनको असहयोगका कारण अगाडि बढ्न नसकेको उनको गुनासो थियो ।

लुम्बिनी प्रेस क्लबकी अध्यक्ष सम्झना शर्माले पर्यटक आएपछि पहिलो गन्तव्य होटल भएको बताइन् । उनले व्यवसायलाई मर्यादित बनाउन होटल व्यवसायीले आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै