• २०८१ कार्तिक ६ मंगलबार

सञ्चारमन्त्री शर्मासँग चिनियाँ प्रतिनिधिमण्डलको भेट

kharibot

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र चिनियाँ कम्युनिष्ट पार्टी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख जेङ यानबीच शिष्टाचार भेटवार्ता भएको छ । 

मन्त्री शर्मासँग नेपाल भ्रमणमा रहेको सिपिसी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख यान नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेको हो । 

भेटवार्ताका क्रममा मन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार र कनेक्टिभिटीका क्षेत्रमा महत्त्वपूर्ण निर्णय हुने विश्वास व्यक्त गरे । 

उनले भृकुटी र अरनिकोदेखि सुरु भएको नेपाल–चीन सम्बन्ध असल छिमेकी र विश्वासिला सहयोगी राष्ट्रका रूपमा विकास हुँदै गएको पनि बताए । राज्यस्तर र जनस्तर दुवै क्षेत्रमा नेपाल र चीनबीचको सम्बन्ध विस्तार हुँदै गएको उल्लेख गर्दै उनले बेलाबेलामा हुने उच्चस्तरीय भ्रमणबाट सम्बन्ध अझै सुदृढ हुने मन्त्री शर्माले स्पष्ट गरे । 

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि दुई देशबीचको सम्बन्ध थप उचाइमा उठेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको चीन भ्रमणपछि आपसी सहयोग आदानप्रदान अझ बढेर जाने विश्वास व्यक्त गरे । 

चीनले सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा गरेको प्रगतिबाट नेपालले पनि लाभ लिइरहेको उल्लेख गर्दै उनले चिनियाँ कम्पनीले पनि नेपालको सूचना प्रविधिको विकासमा राम्रै भूमिका निर्वाह गरिरहेको समेत बताए । 

सूचना प्रविधिका जनशक्ति उत्पादन, साइबर सुरक्षलगायतका सवालमा दुई देशबीच सहायता आदानप्रदान बढाउनुपर्ने मन्त्री शर्माले बताए । मिडिया र कनेक्टिभिटीको क्षेत्रमा युनान प्रान्तसँग पनि सहयोग आदानप्रदान गर्न सकिने उनले बताए । 

नेपालको मिडिया क्षेत्रको अवस्थाबारे चिनियाँ प्रतिनिधिमण्डलको जिज्ञासामा मन्त्री शर्माले आफूहरूले प्रेस स्वतन्त्रतालाई केन्द्रमा राखेर मिडिया प्रवर्द्धनको काम गरिरहेको बताए । 

अहिले केही पुराना कानूनको संशोधन र नयाँ कानून निर्माणका लागि मस्यौदा गरिरहेको उल्लेख गर्दै उनले त्यसमा प्रेस स्वतन्त्रता, मिडियाको सवलीकरण र पत्रकारको भौतिक तथा पेशागत सुरक्षालाई ध्यान दिइएको बताए । 

सिपिसी युनान प्रान्तका स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख यानले नेपाल र चीनबीचको लामो सम्बन्ध रहेको उल्लेख गर्दै युनान प्रान्त र नेपालबीच भूगोल, वातावरण र बहुजातीय संस्कृतिमा समानता रहेको बताए । उनले आफ्नो प्रान्तमा पर्यटनको राम्रो विकास भएको उल्लेख गर्दै उहाँले नेपालमा पनि पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण सम्भावना रहेको बताए । 

जनस्तरको सम्बन्ध विस्तार गर्दै एक आपसको सूचना आदानप्रदान सहज गराउनसके विकासमा योगदान पुग्ने उनले बताए । प्रचार विकासको राम्रो माध्यम भएको औँल्याउँदै यानले मिडिया क्षेत्रसँग सम्बन्धित सहयोग आदानप्रदानमा आफूहरू इच्छुक रहेको बताए । 

युनान चीनको दक्षिण एशियाली केन्द्र भएकाले यही प्रान्तमार्फत विश्वव्यापीरूपमा सांस्कृतिक आदानप्रदान गर्न सकिने पनि उनले बताए । भेटमा दुवैपक्षका अधिकारीहरूको सहभागिता थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै