• २०८१ बैशाख २० बिहीबार

औषधि पसललाई कानूनी दायरामा ल्याउँदै महानगर

kharibot

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनधिकृतरूपमा सञ्चालनमा रहेका औषधि पसललाई कानूनी दायरामा ल्याउने भएको छ ।  

कामपामा हाल सञ्चालनमा रहेका धेरै पसल कानून विपरीत रहेको भन्दै कानूनी दायरामा ल्याउन लागिएको जनाइएको छ । कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार हाल कामपाको क्षेत्राधिकारभित्र दुई हजार छ यस औषधि पसल सञ्चालन छन् ।

सञ्चालित धेरै औषधि पसल कानून विपरीत रहेको भन्दै प्रमुख पौडेलले सबै पसलको अनुगमन गरी गैरकानूनीरूपमा सञ्चालनमा रहेका औषधि पसललाई  कारबाही गर्ने जानकारी दिए । यस्ता पसलमा अनधिकृत व्यक्तिले पनि औषधि बेच्ने गरेका छन् । जसका कारण अनावश्यक र चिकित्सकको सिफारिसविनै औषधि बेच्ने र सोहीअनुरूप बिरामीले सेवन गर्ने गरेको थाहा पाएपछि अनुगमन गर्न लागिएको पौडेलले बताए ।    

उनका अनुसार कामपासँग विज्ञहरूको रोष्टर तयार छ । “उहाँहरूको विज्ञताबाट अनुगमनलाई तीव्र बनाई नतिजामूलक बनाउँछौँ”, उनले भने, “अधिकांश फार्मेसी सञ्चालकले सम्बन्धित विषय नपढेको र अरुको शैक्षिक प्रमाणपत्र पेश गरेर औषधि बिक्री वितरण भइरहेको सूचना प्राप्त भएको छ, सोही सूचनाका आधारमा अनुगमन तीव्र बनाउने हो ।” 

औषधि पसल सञ्चालन कार्यविधि तयार गरेको र सोहीअनुसार अनुगमन गरी कारबाहीको दायरामा ल्याउने बताइएको छ । औषधि पसल सञ्चालन हुनका लागि कामपामा अनुमति लिनुपर्छ, फार्मेसी पढेकाले मात्रै औषधि पसल सञ्चालन र बिक्री वितरण गर्नुपर्ने कानूनी मान्यता छ र बिरामी आउँदा बस्ने स्थानको व्यवस्था गरेको हुनुपर्ने जस्ता मान्यता रहेको छ । 

अनुगमनको प्रक्रियाअन्तर्गत पहिलो पटक कानूनमा गर्दा देखिएका कमजोरी सुधार्न आग्रह गर्ने र आग्रह नमान्दा पसल बन्द गरी अनुमति रद्द गर्नेसम्मको काम गर्ने प्रमुख पौडेलको भनाइ छ । कामपाले चालु आवमा स्वास्थ्य क्षेत्रका लागि रु ९२ करोड ६६ लाख ४४ हजार रकम विनियोजन गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै