• २०८१ बैशाख १७ सोमबार

जनगणनाबाट देखियो नेपाली समाजमा अझै पनि छोराको चाहना अत्यधिक

kharibot

काठमाडौँ  । नेपालमा महिला र पुरुषलाई शिक्षा, स्वास्थ्य, सेवा र सुविधाका हिसाबले समान अवसर प्रदान गरिए पनि पितृसत्तात्मक सोचका कारण छोराको चाहनाले लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने प्रवृत्तिले जन्मिएका शिशुमध्ये छोराको सङ्ख्या धेरै भएको पाइएको छ ।

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा राष्ट्रिय तथ्याङ्क कार्यालयका तर्फबाट उपलब्ध गराइएको विवरणअनुसार एक सय बालिका जन्मिदा सरदर एक सय १४ बालकको जन्म हुने गरेको छ । विश्वमा एक सय बालिका जन्मदा एक सय छ बालक जन्मिनुलाई स्वाभाविकरूपमा लिइन्छ ।

मधेस प्रदेशमा एक सय बालिका बराबर एक सय २२ र सुदूरपश्चिम प्रदेशमा एक सय १८ बालकको जन्म हुनुले ती प्रदेशमा अझै पनि छोराप्रतिको चाहना अत्यधिक रहेको देखिन्छ ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार जन्मदा महिलाभन्दा पुरुषको सङ्ख्या धेरै भए पनि १९ वर्ष उमेरपछि भने पुरुषभन्दा महिलाको जनसङ्ख्या बढी रहेको पाइएको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी नेवीनलाल श्रेष्ठले बताए । जनगणनाका बेला ठूलो सङ्ख्यामा रहेका युवा जनशक्ति रोजगारीका लागि विदेश पलायन भएका कारण लैङ्गिक अनुपात तलमाथि हुन गएको अनुमान गरिएको छ ।

स्थानीय तहतर्फ विश्लेषण गर्दा ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिक र बालिकाको सङ्ख्या उल्लेखनीय देखिएको समितिमा प्रस्तुत राष्ट्रिय जनगणनाले देखाएको जनसङ्ख्याको आकार, प्रकार र संरचनासम्बन्धी प्रस्तुतिमा समावेश छ । त्यस्तै सहरमा काम गर्ने उमेर समूहका युवाको जनसङ्ख्या बढी रहेको देखिएको छ ।

जनसङ्ख्याको वृद्धिदर मधेस र लुम्बिनी प्रदेशमा एक प्रतिशतभन्दा बढी छ भने १० वर्षमा मधेस र बागमती प्रदेशमा सबैभन्दा धेरै जनसङ्ख्या थपिएको तथ्याङ्क प्रस्तुत गरियो । 

शून्यदेखि १४ वर्ष उमेर समूहको जनसङ्ख्या घट्नुले प्रजनन न्यून भएको देखाएको र १५ देखि ६४ वर्ष उमेर समूहको जनसङ्ख्या वृद्धि भई ६२ प्रतिशत कायम रहनुले काम गर्न सक्ने उमेर समूहको बाहुल्यलाई पुष्टि गरेको श्रेष्ठले बताए । यसैबीच महिलाको नाममा रहेको घर वा जग्गा दुवै हुने परिवारको प्रतिशत २३ दशमलव आठ रहेको तथा महिला मूली भएका परिवार प्रतिशत ३१ द्यशमलव छ रहेको उल्लेख गरिएको छ ।

पछिल्लो जनगनणाअनुसार विगत १० वर्षको अवधिमा २७ लाख जनसङ्ख्या बढेको छ । वार्षिक जनसङ्ख्याको वृद्धिदर ९० वर्षको इतिहासमा एक प्रतिशतभन्दा तल अर्थात शून्य दशमलव ९२ मा झरेको देखाइएको छ ।

तथापि, पछिल्लो समय देशमा पुरुष र महिलाको जनसङ्ख्या अन्तरमा सुधार देखिएको छ । जनगणनाअनुसार पछिल्लो समय हिमालबाट–पहाड, पहाडबाट तराई र सहरमा बसाइसराई केन्द्रित हुने क्रम बढेको छ ।

जनसङ्ख्याको ५४ प्रतिशत बसोबास तराई मधेसमा हुने गरेको छ । मुलुकको पछिल्लो जनगणनाअनुसार दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ जनसङख्या पुगेको छ । समग्रमा मुलुकमा जन्मदर घटेको तथा औषध आयु बढेको उल्लेख गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै