काठमाडौं । नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक आज काठमाडौंमा सम्पन्न भएको छ । नेपाल र स्विट्जरल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरसँगै बैठक आयोजना गरिएको हो ।
बैठकमा नेपाल–स्विट्जरल्याण्ड सम्बन्धका समग्र पक्षबारे समीक्षा गरिएको थियो। दुवै पक्षले दुई देशबीचको लामो समयदेखिको मित्रता र घनिष्ठ साझेदारीको प्रशंसा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने तथा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बैठकमा नेपाली पक्षले नेपालमा पछिल्लो राजनीतिक तथा आर्थिक अवस्थाबारे स्विस पक्षलाई जानकारी गराएको थियो। नयाँ सरकारका प्राथमिकताबारे जानकारी दिँदै सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, डिजिटल रूपान्तरण तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई विशेष प्राथमिकतामा राखिएको उल्लेख गरिएको थियो । त्यसैगरी जलविद्युत उत्पादन तथा प्रसारण, पर्यटन र सूचना प्रविधि क्षेत्रको विकास सरकारका प्रमुख आर्थिक लक्ष्य रहेको नेपाली पक्षले जनाएको थियो ।
नेपालले स्विस विकास तथा सहयोग निकायमार्फत नेपाललाई निरन्तर प्राथमिकतामा राख्दै आएकोमा स्विस सरकारप्रति आभार व्यक्त गरेको छ। संघीयता कार्यान्वयन, झोलुङ्गे पुल निर्माण, आप्रवासन व्यवस्थापन, सामुदायिक वन, प्राविधिक तथा व्यावसायिक शिक्षा र विपद् प्रतिरोधी क्षमता विकासलगायत क्षेत्रमा स्विट्जरल्याण्डले पुर्याएको सहयोगको प्रशंसा गर्दै नेपालले सरकारका प्राथमिकताअनुसार सहयोगको दायरा अझ विस्तार गर्न आग्रह गरेको थियो ।
बैठकमा जलवायु परिवर्तन तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यलगायत साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा समेत छलफल भएको थियो । दुवै पक्षले प्रस्तावित समझदारीपत्र तथा विभिन्न सम्झौताहरूलाई शीघ्र टुंगोमा पुर्याउने सहमति गरेका छन् । नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयको युरोप महाशाखाका प्रमुख तथा सहसचिव गणेशप्रसाद ढकाल र स्विट्जरल्याण्डको संघीय परराष्ट्र विभागको एसिया तथा प्रशान्त महाशाखाका प्रमुख मार्कस लाइटनरले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बैठकको सहअध्यक्षता गरेका थिए ।
नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको युरोप महाशाखा तथा विभिन्न क्षेत्रगत मन्त्रालयका अधिकारी सहभागी थिए । स्विस प्रतिनिधिमण्डलमा नेपालका लागि स्विस राजदूत डाक्टर डानिएल म्युव्लीसहित स्विट्जरल्याण्डको संघीय परराष्ट्र विभाग र काठमाडौंस्थित स्विस दूतावासका अधिकारी सहभागी थिए ।
बैठकपछि नेपाली प्रतिनिधिमण्डलका प्रमुख गणेशप्रसाद ढकालले स्विस प्रतिनिधिमण्डलका प्रमुख मार्कस लाइटनर तथा सहभागी प्रतिनिधिहरूको सम्मानमा दिवाभोजको आयोजना गरेका थिए । त्यसपछि स्विस प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयमा परराष्ट्र सचिव अमृतबहादुर राईसँग शिष्टाचार भेटवार्ता गरेको थियो। भेटका क्रममा दुवै पक्षले द्विपक्षीय परामर्श संयन्त्र बैठकको उपलब्धिप्रति सन्तोष व्यक्त गरेका थिए ।
नेपाल र स्विट्जरल्याण्डबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना सम्बन्धी समझदारीपत्र सन् २०१५ नोभेम्बर ४ मा हस्ताक्षर भएको थियो।









