• २०८१ बैशाख १७ सोमबार

‘नेपालमा जनगणना’ नामक पुस्तक सार्वजनिक

kharibot

काठमाडौँ । राष्ट्रिय तथ्याड्क कार्यालयले विसं १९६८ देखि २०७८ सालसम्म नेपालमा सञ्चालित जनगणनाका विविध पक्ष समेटेर “नेपालमा जनगणना” नामक पुस्तक सार्वजनिक गरेको छ । 

 जनगणनाका विभिन्न प्रकाशन प्रकाशन गर्ने क्रममा यो पुस्तक प्रकाशन गरिएको हो । विसं १९६८ देखि २०७८ सालसम्म सञ्चालित जनगणनाका गणना प्रकिया, अवधारणा तथा परिभाषा, विशेषता, जनगणनाको समयमा सोधिएका प्रश्नहरु र नतिजा लगायतका विभिन्न विषय समेटेर यो विशेष पुस्तक प्रकाशन गरिएको कार्यालयका निर्देशक एवं सूचना अधिकारी मनोहर घिमिरेले राससलाई जानकारी दिए । 

केन्द्रीय तथ्याङ्क विभागका पूर्व महानिर्देशक तुङ् शिरोमणि बाँस्तोलाले यो पुस्तक लेखेका हुन् ।

विसं १९६८ मा भएको पहिलो जनगणनादेखि विसं २०७८ मा भएको बाह्रौँं राष्ट्रिय जनगणनाका बारेमा विस्तृत रुपमा यस पुस्तकमा लेखिएको छ । यो पुस्तक सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार, नीति निर्माता, अध्येता, अनुसन्धानकर्ता, विद्यार्थी लगायत सबैलाई उपयोगी हुने राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक घिमिरेले बताए । नेपालमा विसं १९६८ देखि जनगणना सुरु गरिएको हो । 

विसं २००९÷११ मा सञ्चालित पाँचौँ जनगणनालाई वैज्ञानिक विधिबाट सञ्चालित पहिलो जनगणना मानिन्छ । बाह्रौंँ राष्ट्रिय जनगणना विसं २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म अक्सर बसोबासको अवधारणामा सञ्चालन भएको थियो । कोभिड– १९ महामारीका कारण २०७८ जेठ, असारमा सञ्चालन हुन नसक्दा कात्तिक मङ्सिरमा जनगणना गरिएको थियो ।

यस जनगणनामा मङ्सिर ९ गतेलाई जनगणना दिवसको रुपमा लिइएको छ । यस जनगणनाको अन्तिम प्रतिवेदन २०७९ चैत १० मा सार्वजनिक गरिएको छ । 

जनगणनाको अन्तिम नतिजा अनुसार नेपालको कूल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ रहेको छ । यसमा पुरुषको सङ्ख्या एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१ र महिलाको सङ्ख्या एक करोड ४९ लाख एघार हजार २७ रहेको छ । विसं १९६८ को पहिलो जनगणना अनुसार नेपालको जनसङ्ख्या ५६ लाख ३८ हजार सात सय ४९ रहेको थियो ।

पुस्तकमा दुई सय ४२ पृष्ठ छ । पुस्तक निःशुल्क वितरण गरिने कार्यालयले जनाएको छ । कार्यालयको वेबसाइटमा पनि पुस्तक पढ्न सकिने जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै