• २०८१ बैशाख २१ शुक्रबार

यमन युद्ध अन्त्यका लागि मध्यस्थता गर्ने इराकको प्रस्ताव

kharibot

काठमाडौं । इराकले यमनमा वर्षौंदेखि चलेको युद्ध अन्त्यका लागि युद्धरत पक्षबीच मध्यस्थता गर्ने प्रस्ताव गरेको इराकका उच्च कूटनीतिज्ञले आइतबार आयोजित पत्रकार सम्मेलनमा बताएका छन् । इराकका विदेशमन्त्री फौद हुसेनले यमनका आफ्ना समकक्षीको भ्रमणका क्रममा उक्त प्रस्ताव अघि सारेका हुन् । 

इरान समर्थित हुथी विद्रोहीले सन् २०१४ मा राजधानी सानाकब्जा गरेका थिए भने अर्को वर्ष साउदी नेतृत्वको सैन्य गठबन्धनले देशको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको पक्षमा हस्तक्षेप गरेको थियो । 

संयुक्त राष्ट्रसङ्घले विश्वकै सबैभन्दा खराब मानवीय सङ्कटको संज्ञा दिएको छ, जसमा खाद्यान्नको अभावजस्ता युद्ध वा अप्रत्यक्ष कारणले लाखौं मानिसको ज्यान गइसकेको छ । संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा छ महिना लामो युद्धविराम गत वर्षको अक्टोबरमा सकिएको थियो ।

उनले भने, “अहिले अनौपचारिक युद्धविराम भएको छ । व्यवहारमा, युद्धविरामको कुनै न कुनै रूप छ । हामी आशा गर्दछौं, यो स्थितिले सबै यमनी पक्षहरूबीच वार्ताको नेतृत्व गर्छ,” हुसेनले यमनका विदेशमन्त्री अहमद बिन मुबारकसँग गरेको संयुक्त पत्रकार सम्मेलनमा जोड दिए । 

“इराक यस मामिलामा सहयोग गर्न तयार छ । सबै पक्षसँग हाम्रो राम्रो सम्बन्ध छ । हामी यमनको स्थिरता र सुरक्षाका लागि आफ्नो प्रभाव प्रयोग गर्न सक्छौं र हामी क्षेत्रीय स्तरमा काम गर्न सक्छौं,” उनले भने । 

बग्दादले क्षेत्रीय मध्यस्थकर्ताको रूपमा आफ्नो भूमिकालाई निरन्तर उजागर गर्ने प्रयास गर्दै आएको छ र अप्रिल २०२१ देखि क्षेत्रीय प्रतिद्वन्द्वीहरू इरान र साउदी अरबबीच अपेक्षाकृत निम्न–स्तरीय वार्ताको धेरै चरणहरू आयोजना गरेको छ । 

गत मार्चमा रियाद र तेहरानले बेइजिङको मध्यस्थतामा भएको आश्चर्यजनक सम्झौतामा कूटनीतिक सम्बन्ध पुनः सुरु गर्ने घोषणा गरेका थिए । यस मेलमिलापले यमनमा शान्तिको आशा जगाएको थियो । 

“दुर्भाग्यवश, अहिलेका लागि हामीले यमनको स्थितिमा यस सम्झौताको प्रत्यक्ष प्रभाव देखेका छैनौं,” यमनका मन्त्रीले आफ्नो सम्बोधनमा भने । “तर हामी आशावादी छौं,” उनले भने । “यमनको यो युद्ध अन्त्य गर्ने समय आएको छ भन्ने हाम्रो विश्वास छ ।” 

गत अप्रिलमा यमनका लागि रियादका राजदूत मोहम्मद अल–जाबेरले युद्धविरामलाई ‘स्थायी शान्तिमा’ बदल्ने योजनाअन्तर्गत सानाको भ्रमण गर्नुभएको थियो । यद्यपि कुनै सम्झौता भएको छैन । त्यसको केही समयपछि जाबेरले युद्धरत पक्षहरू द्वन्द्व अन्त्य गर्न गम्भीर रहेको बताएका थिए । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै