• २०८१ बैशाख २१ शुक्रबार

आचार्य श्रीनिवासले आफैलाई गोली हान्न लगाएको खुलासा, पक्राउपछि प्रहरीले गर्यो सार्वजनिक  

kharibot

विराटनगर । हिन्दु धर्मका अभियन्ता आचार्य श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको छ ।

पैसा दिएर आफैलाई गोली हान्न लगाएको आरोपमा प्रहरीले श्रीनिवासलाई पक्राउ गरेको हो । सोमबार पत्रकार सम्मेलन गरी काठमाडौंबाट पक्राउ परेका आचार्य श्रीनिवासलाई विराटनगरमा सार्वजनिक गरिएको हो । 

उनलाई पक्राउ गर्नु पूर्व पक्राउ परेका २ जनाले दिएको बयानका आधारमा उनलाई काठमाडौंबाट पक्राउ गरी सोमबार विराटनगरमा सार्वजनिक गरिएको हो । यसअघि लक्ष्मीराज अधिकारी र माधव चौधरीलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा वैशाख २० गते नै म्यादथप गरेर अनुसन्धान सुरु गरिएको थियो । 

अधिकारी र चौधरीको बयानका आधारमा श्रीनिवासलाई पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक अरुण बिसीले बताए । 

चैत २५ गते बिहानको पौने २ बजे विराटनगर १४ जतुवामा रहेको श्री राम जानकी मन्दिरको परिसरमा लाग्ने श्रीमद्भागवत् सप्ताह पुराणको लागि वाचन गर्न आएका सुनसरीको बराह नगरपालिका वडा नम्बर ६ चक्रघटी  बस्ने श्री निवास आचार्यमाथि गोली प्रहार भएको थियो । 

घटनाको छानबिन तथा अनुसन्धानको लागि गठित प्रहरीको विशेष अनुसन्धान टोलीले  प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरो, १ नम्बर प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी इकाई कार्यालय धरान तथा जि.प्र.का. मोरङले गरेको अनुसन्धानबाट उनले नै अन्य व्यक्ति प्रयोग गरी गोली हानेको पाइएकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए ।

पक्राउ परेका भरतपुर –४, बेल चोक बस्ने २९ वर्षीय माधव चौधरीले प्रहरीलाई दिएको बयानका आधारमा आचार्य श्रीनिवासले गोली हान्न सिकाई  धर्म र देशको लागि केही गर्नुपर्छ भनी निजले नै उक्साई  गोलीसहितको पेस्तोल दिई हान्न लगाएको भनी बताएको बिसीले जानकारी दिए । त्यस्तै नवलपरासीको गैँडाकोट नगरपालिका वडा नम्बर ५ बस्ने ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीले प्रहरीलाई दिएको बयानमा उनले घरमा राखेको गोलीसहितको पेस्तोलले श्री निवास आचार्यले भनेपछि गोली हानेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जनता र धर्म गुरूहरूलाई उक्साउनको लागि गुरू आचार्य श्रीनिवासले आफ्ना विश्वास पात्र लक्ष्मीराज अधिकारीलाई गोलीसहित हतियारको व्यवस्थापन गर्न लगाई गोलीसमेत हान्ने मानिस माधव चौधरीलाई खोजी प्रशिक्षण गराई घटना गराएको बताइएको छ ।

आचार्य श्रीनिवास नेपाललाई धर्मनिरेपक्ष राष्ट्र घोषण विरुद्ध आन्दोलन गर्ने धार्मिक अगुवा मध्येका एक हुन् । साथै आचार्य बैदिक सनातन हिन्दु जागरण अभियानका संरक्षक पनि हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै