काठमाडौं । नयाँ बानेश्वरस्थित मदन भण्डारी मेमोरियल कलेजले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
लायन्स क्लब अफ काठमाडौंसँगको सहकार्यमा मगंलबार कलेज परिसरमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
सो अवसरमा आँखा, दाँत र मधुमेहको निःशुल्क परिक्षण गरिएको कलेजका समाजिक कल्याण उप–समितिका संयोजक सुजित मैनालीले बताए । साथै रक्तदान कार्यक्रम पनि सम्पन्न भएको छ ।
शिविरमा आँखाको १७९ जना, दाँत १३८ जना र मधुमेह २१ जनाले परिक्षण गराएका थिए । साथै ३८ जनाले रक्तदान गराएका थिए ।
कलेजका विद्यार्थी र कर्मचारीसहित विनायकनगर, थापागाउँ, अनामनगर, बुद्धनगर, संखमुल लगायत बानेश्वर क्षेत्रका नागरिकले पनि शिविरबाट लाभ लिएका छन् ।
कलेजले आफ्नो २२ औं वार्षिकोत्सव असार १४ गते विहान ८ बजेदेखि राष्ट्रिय सभा गृहमा भव्य रुपमा आयोजना गर्दैछ । सो अवसरमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा आउने तय भएको सहायक प्रधानाध्यापक कमल न्यौपानेले जानकारी दिए ।
साथै त्रिभुवन विश्वविद्यालयका रजिष्टार, मदन भण्डारी फाउण्डेशनका पदाधिकारी, कलेज व्यवस्थापन समितिका पदाधिकारी लगायतको पनि उपस्थिति हुने उनले बताए । हरेक वर्ष कलेजले आफ्नो वार्षिकोत्सवका अवसरमा स्वास्थ्य शिविर लगायत विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।